बनियाँ गाँउमा झडप हुदाँ एकको मृत्यु, दर्जन बढि घाईते

स्थिती नियन्त्रणमा लिन डिएसपीको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन


बनियाँ गाँउमा झडप हुदाँ एकको मृत्यु, दर्जन बढि घाईते

नेपालगन्ज : बाँकेको जानकी गाँउपालिका वडा नम्बर ५ बनियाँ गाउँमा झडप हुदाँ एकजनाको मृत्यु भएकोछ ।

गाउँका दुई समुह बीच सोमबार बेलुका ५ बजे भएको कुटाकुटमा गम्भीर घाईते भएका अन्दाजी ५०–५५ वर्षिय धनिराम यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

घाईते यादवलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याइएपनि उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएकोछ । उनको टाउकोमा ठूलो गहिरो चोट लागेको थियो ।

यस्तै उक्त झडपमा परि स्थानीय २४ वर्षिय पवन काँदू, अन्दाजी ५०–५५ वर्षिय महिला कुन्ना खटिक, अन्दाजी ३५ वर्षिय रामनरेश गुप्ता घाइते भएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

झडप लगत्तै घटना स्थल पुगेको प्रहरीले भीड नियन्त्रण र माहोल शान्त पार्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उरीक्षक सुवास खड्काको नेतृत्वमा एक सय प्रहरी तथा २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै प्रहरी उपरीक्षक रानाले भने–‘दुई समुहबीच भएको झडप यतिबेला प्रहरीको नियन्त्रणमा रहेको छ । घटनामा संलग्न आशंकामा ११ जनालाई नियन्त्रणमा लिइएको छ ।’

यता झडपमा गम्भीर घाईते भएका यादवको उपचारका क्रममा मृत्यु भएसगैं बनियाँगाउँको स्थिती भयाबह हुने आँकलन गरिएपछि आज रातभरी सुरक्षाकर्मीको उच्च निगरानीमा बनियाँ गाउँलाई राखिएको बाँके प्रहरी प्रमुख रानाले जानकारी दिए ।