हिरमिनियामा निःशुल्क प्रयोगशाला सञ्चालन


हिरमिनियामा निःशुल्क प्रयोगशाला सञ्चालन

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले हिरमनियामा पहिलोपटक निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएकोछ । डुडुवा गाउँपालिका वडा नम्बर–६ हिरिमिनिया स्थित स्वास्थ्य चौकीमा बिहीबारदेखि निःशुल्क प्रयोगशाला सञ्चालनमा आएको हो ।

गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परीक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट बञ्चित हुन नदिनका लागि निःशुल्क ल्याब सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाले हरेक वडामा निःशुल्क ल्याब सञ्चालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको भन्दै अहिलेसम्म तीन स्थानमा स्थापना भईसकेको छ ।

विहीबार एक कार्यक्रमकाविच अध्यक्ष चौधरीले उक्त प्रयोगशालाको उदघाटन गरेका हुन् । डुडुवा गाउँपालिकाका केही बाँकी स्थानमा समेत छिटै प्रयोगशाला सञ्चालन गरिने छ । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पुर्ण सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउदै आएको बताए ।

उनले सामान्य विरामीदेखि मधुमेश, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पुर्ण औषधी उपचार निःशुल्क रुपमा गर्दै आएको भन्दै आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रयोगशाला उद्घाटन कार्यक्रममा वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

ल्याबमा तीन जना प्राविधिकसहितको टोलीले वडा नम्बर ६ का करिब ६ हजार नागरिक प्रत्यक्ष सेवा लिनेछन् । ल्याबमा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाईड, जेन्डिस, लिभर लगायतको परीक्षण गरिनेछ ।
निःशुल्क ल्याब सञ्चालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता समेत हटेको छ ।

स्वास्थ्य समस्या देखिएपछि नेपालगन्जका चिकित्सकले परीक्षण गर्ने भनेपछि डुडुवामा पुगेर ल्याब जाँच गराएर रिपोर्ट देखाउने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । गाउँपालिकाले अहिलेसम्म वडा नम्बर १ बेतहनी, वडा नम्बर ५ कम्दी र वडा नम्बर ६ हिरिमिनियामा निःशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ ।