नेपालगन्ज : पछिल्लोपटक राजतन्त्रको पक्षमा देशभर एकपछि अर्को प्रदर्शन हुन थालेपछि सरकारलाई दवाव सिर्जना भएकोछ । देशभर बढ्दो राजावादीहरुको प्रदर्शनलाई लिएर गृहको रणनीतिमा केही फेरबदल समेत भएको छ ।
गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले । सोही निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको सूचना प्राप्त हुन आएको र यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथामा सहयोग पुर्याउन सबैमा अनुरोध गरिन्छ ।’
त्यसको दुई दिनपछि १८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अर्को विज्ञप्तिमा भने केही नरम भाषा प्रयोग गरेको छ । राजनीतिक वा गैरराजनीतिक केही नभनि कोरोना संक्रमणको अवस्थालाई धेरै मानिसहरु भेला र जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका सभा सम्मेललन तथा भिडभाड हुने क्रियाकलापहरु हुन र गर्न नदिन उपत्यकावासीलाई अनुरोध गरिएको छ ।
राजवादीहरुको प्रदर्शन रोक्न सर्कुलर गर्दा नै सरकार आलोचित भएकै बेला पछिल्लो पटक पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले धरपकड गरेपछि विपक्षी दल पनि सरकारमाथि खनिएको छ ।
शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनको निगरानी मात्र गर्नु भन्दै लचिलो बनेको हो । यसअघि शनिबार(आज) हुने भनिएको राजवादीहरुको प्रदर्शनलाई तितरवितर पार्ने गृहको तयारी थियो, तर शनिबार काठमाण्डौ, चितवन, विरगञ्ज र झापमा भएको शान्तिपूर्ण प्रदर्शनमा गृहले अवरोध गरेन ।
राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा बृहत प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति–२०७७’ को आह्वानमा भएको प्रदर्शनमा हराजरौं संख्यामा उपस्थित सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।
पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।
यसैबीच शनिबार मात्रै हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले शनिबार चितवनमा प्रदर्शन गरेका छन् । हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै हजारौं समर्थकहरूले ¥यालीमा सहभागिता जनाएका हुन् । भरतपुरस्थित केन्द्रीय बसपार्कबाट सुरू भएको ¥याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुनः केन्द्रीय बसपार्क पुगेर टुंगिएको थियो ।
यस्तै झापा र विरगञ्जमा समेत ठूलो मात्रमा उपस्थित भएका हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले प्रर्दशन गरेकाछन् ।
यसअघि मंसिर १३ गते बाँकेको नेपालगन्जमा हजारौंको संख्यामा हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनलाई जनआन्दोल २०६२÷०६३ पश्चातको सबै भन्दा ठूलो प्रदर्शन मानिएको थियो ।