एन्फा बाँकेद्वारा क्लबहरुलाई फुटबल वितरण


एन्फा बाँकेद्वारा क्लबहरुलाई फुटबल वितरण

शेर बहादुर रौले

नेपालगन्ज: बाँके जिल्ला फुटबल संघले आफ्ना मातहतका क्लबलाई फुटबल वितरण गरेको छ । संघसँग आबद्ध ११ क्लबलाई एक कार्यक्रमका बिच फुटबल हस्तान्त्रण गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रत्येक क्लबलाई चारवटा फुटबल प्रदान गरेको छ । नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्द प्रसाद श्रेष्ठ तथा तरुणदल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्त्रण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झनाले कोरोनाको महामारीले पारेको प्रभावको सामना गर्दै फुटबल गतिविधि सुरु हुनु पर्ने बताए । उनले भने, ‘जिल्ला संघले क्लबलाई फुटबल दिनु सकारात्मक कुरा हो । यसले अब फुटबल गतिविधि सुरु भएको छ भन्ने सन्देश दिएको छ । फुटबललाई सक्रिय बनाउन अब सबै क्लब, संघका पदाधिकारीले मिहिनेत गर्न जरुरी छ ।’

Kids Festival 2022
kanti aarogya hospital

नेपालको पश्चिम क्षेत्र फुटबल स्तर र राजनितिक रुपमा पनि पछि परेको बताउँदै उपाध्यक्ष सम्झनाले अब संघको नेतृत्वले यस क्षेत्रको फुटबलको विकासका लागि धेरै मिहिनेत गर्न आवश्यक देखिएको बताए । उनले भने, ‘विगतमा भेरी च्यालेन्ज कप यहाँको चर्चित प्रतियोगिता थियो । यसले धेरै उत्कृष्ट खेलाडी जन्माएको थियो । तर, पछिल्ला वर्ष हामी कमजोर देखिएको छौं । हामीसँग एउटा गोल्डकप फुटबल बाहेक अन्य राम्रा प्रतियोगिता छैनन् । संघले मात्र एक्लै गरेर केहि हुदैन । स्रोत साधन भएका क्लबले व्यवस्थापनलाई बलियो बनाएर स्तरीय प्रतियोगिता गर्ने प्रयास गर्नु छ ।’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोनाको संकटकाबिच बाँकेमा अब फुटबलले गतिले लिने बताए । संघले बाँकेमा फुटबलको विकासका लागि हरेक क्लब र खेलकर्मीसँग सहकार्य गरेर अगाडी बढने उनले बताए । शाहीले भने, ‘अहिले विश्वले संकटको सामना गरेको छ । यस्तो बेला फुटबलले जनतामा एउटा खुसी हुने वातावरण सृजना गर्न सक्छ । हामी फुटबलको माध्यमबाट समाजमा एउटा हौसला, नयाँ उत्साह जगाउने प्रयास गर्नेछौं ।’

जिल्लामा हुने फुटबलका हरेक गतिविधिमा संघले प्राविधिक सहयोग गर्ने शाहीले बताए । पछिल्लो समय बाँकेमा फुटबलको पुर्वाधार निर्माण हुदै गएकोले भविष्यमा यसले थप राम्रो प्रभाव पार्ने उनले बताए ।

उनले थपे, ‘अब बाँकेमा विगतको जस्तो पुर्वाधारको समस्या छैन । विस्तारै बढिरहेको छ । पहिला नेपालगन्ज रंगशालामात्रै निर्भर रहनु पर्ने अवस्था थियो । अहिले धम्बोझीमा एउटा उत्कृष्ट एकेडेमी निर्माण भएको छ, खजुराको फुटबल मैदानको स्तर बढिरहेको छ । यसले बाँकेको फुटबल विकासमा सहयोग गरेको छ ।’

कार्यक्रममा अध्यक्ष शाहीले पुस महिनाबाट खजुरा गाउँपालिका–१ मा हुन लागेको श्याम थापा ‘हुइया’ स्मृति कप फुटबलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।