File Photo
नेपालगन्ज : बाँकेको सबैभन्दा पुरानो सहकारीको रकम हिनामिना गरि फरार हुने ब्यक्तिलाई प्रहरीले पक्राउ गर्नसकेको छैन । बाँके प्रहरीले ४५ करोड रकम हिनामिना गरेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका फरार ब्यक्तिलाई अझै पक्राउ गर्न नसकेको हो ।
सहकारीको करोडौं रुपैयाँ हिनामिना गर्ने ब्यक्तिलाई लामो समयदेखि बाँके प्रहरीले पक्राउ गर्न नसक्दा सहकारी पीडितले न्याय पाउनेमा शंका ब्यक्त गर्न थालेकाछन् । बाँके प्रहरीका अनुसार सहकारीबाट करोडौं रुपैयाँ हिनामिना गर्ने ६ जना ब्यक्ति अझै फरार रहेका छन् ।
यसअघि सहकारी सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले गत असार २७ गते पक्राउ गरि पुर्पक्षका लागि कारागार चलान गरेकोछ । लामो समयदेखि फरार रहेका चौधरीलाई प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहबाट नियन्त्रणमा लिएको थियो ।
सहकारीमा आर्थिक अपचलनमा ४१ जनालाई प्रतिबादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित हालसम्म सात जना कारागार चलान भएकाछन् । यसरी कारगार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेकाछन् । बाँके प्रहरीका अनुसार २७ जना प्रतिबादी अदालतमा उपस्थित भइसकेकाछन् । अब ६ जना अmझै फरार रहेको प्रहरीले जनाएकोछ ।
विगत १० वर्षदेखि नक्कली कागजपत्र बनाएर सहकारीका सञ्चालक, कर्मचारी र लेखा परीक्षकलगायत मिलेर रकम अपचलन र ठगी गर्दै आएका थिए । बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि बाँके प्रहरीले विज्ञहरुको सहयोगमा अनुसन्धान गर्दा हिनामिना भएको वास्तविकता फेला पारेको थियो ।
सहकारीको रकम हिनामिना भएको पाएपछि सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी समेत दिइएका थिए ।
संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य, कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार रहेका ब्यक्तिहरुको खोजविन भइरहेको र ती मध्ये केहीलाई छिटै पक्राउ गरिने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार सहकारीको रकम हिनामिना गरि फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गर्न आफू कटिबद्ध रहेको भन्दै उनले भने–‘फरार रहेका ब्यक्तिलाई छिटै पक्राउ गरि कानूनी दायरामा ल्याउछौं ।’
यसअघि सहकारी पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका थिए । कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीमा उनीहरुको अन्दोलन केही मथ्थर भएपनि सहकारीको रकम हिनामिना गरेकालाई पक्राउ गरि कानूनी दायरा ल्याउन उनीहरुले माग गर्दै आएकाछन् ।
डेढ वर्षदेखि निरन्तर दबाब दिँदा पनि सहकारीले ११ हजार ४ सय ८ जना बचतकर्ताको रकम फिर्ता नगरेको पीडित संघर्ष समितिका सदस्य आशुतोष शुक्ला बताँछन् । आफ्ना समस्या सहकारीमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत पटक–पटक ध्यानाकर्षण गराइँदा समेत कुनै सुनुवाइ नभएको शुक्लाले बताए ।
उनले यो विषय जति पुरानो हुदै गयो त्यती आफूहरुले न्याय नपाउने हो की भन्दै चिन्ता ब्यक्त गरे । हामी प्रहरी प्रशासनलाई सघाउन चाहान्छौं, फरार रहेका ती ब्यक्तिहरुलाई छिटै पक्राउ गरि कानूनी दायरामा ल्याइयोस् उनले भने ।
२०५१ सालमा स्थापित यो सहकारी बाँकेकै सबैभन्दा पुरानो सहकारी हो । सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि गत २०७६ जेठदेखि सहकारी बन्द छ ।