बर्दिया : किसानले सधै आफ्नो उत्पादनमा बृद्धि होस् भन्ने चाहना राख्ने गर्दछन् । तर, माटोको सहि पहिचान तथा परीक्षण नहुँदा उत्पादनमा ह्रास आउने मात्र होइन किसानको मेहनत समेत खेर जाने गर्दछ । माटोको सहि पहिचान तथा परीक्षण गर्न सके कस्तो माटोमा कुन प्रकारको खेती गर्न सकिन्छ तथा मलको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी पाइने हुनाले कृषि उत्पादन नमुना बन्न सक्छ ।
किसानहरुले आफ्नो खेतबारीमा माटोको परीक्षण विनानै रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादन क्षमतामा ह्रास आउनुका सार्थै उत्पादनमा क्षती पुगिरहेको हुन्छ । कृषिमा सरकारले ठूलो लगानी गरेपनि किसानले त्यसको सहिरुपमा लाभ लिन नपाउँदा कृषि क्षेत्रमा वर्षेनी किसानको आर्कषण घट्दै गएकोछ ।
जसका कारण ठूलो सम्भावना रहेको कृषि ब्यवसायबाट युवाहरु पलायन भइरहेकाछन् । किसानलाई माटो र मलका बारेमा जानकारी दिने उद्देश्यले बर्दियामा माटो तथा मल परीक्षण शिविर सञ्चालन गरिएको छ ।
यसअघि किसानले आफ्नो माटो परीक्षणका लागी बाँकेको खजुरामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला जानु पर्दथो । विश्व माटो दिवशका अवसरमा किसानकै खेतबारीमा पुगी माटो तथा मल परीक्षणको शिविर सञ्चालन गरेपछि बर्दियाका किसान हर्षित भएकाछन् ।
बर्दियामा सञ्चालन गरिएको शिविरमा किसानले आफ्नो खेतको माटोको अवस्था कस्तो छ ? कुन वाली लगाउँदा फाइदा हुन्छ, कस्तो माटोमा कस्तो मल प्रयोग गर्ने भन्ने लगायतको जानकारीका साथ निःशुल्क माटो परीक्षण गरिएकोछ ।
यसअघि दिवसका अवसारमा बन्द कोठामा हुने गोष्ठि तथा कार्यक्रमले किसानलाई प्रत्यक्ष प्रभाव पार्न नसक्ने भन्दै माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियासंग समन्वय गरी बर्दियाको बारबर्दिया नगरपालिका—५ धोविया गाँउमा घुम्ति माटो परीक्षण गरेको हो ।
आफ्नै खेतवारीमा पुगी माटोको परीक्षण गराउनुका साथै मलको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी शिविरबाट पाएको स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समिति बारबर्दिया नगरपालिका —५ का संयोजक पतिराम थारुले बताए ।
किसानका समस्या बुझ्नका लागी किसानकै खेतवारीमा पुगी त्यसको अवस्थाको विषयमा जानकारी लिनुनै किसानको मनोबल बृद्धिसगैं किसानका वास्तविक समस्या पहिचान र समाधान गर्न सकिने थारु आयोगका अध्यक्ष विष्णु थारुको बुझाई छ । उनका अनुसार स्मार्ट कृषि गाउँ घोषणा गेरर मात्र हुदैन, त्यसका लागि स्मार्ट कृषिले तय गरेका गतिविधिलाई कार्यान्वयन गर्नु अपिहार्य हुन्छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख अमरराज शर्मा घिमिरेले माटोको अवस्था किसानले प्रयोग गरिरहेको मल तथा माटोमा अम्लियनपन बढ्दा उत्पादनमा कमी आउने भएकाले किसानकै घरदैलोमा शिविरको आयोजना गरिएको बताए ।
बर्दियामा ५ हजार नमुना जाँच गर्दा प्राङ्गारिक मलको प्रयोग कम भएका कारण माटो निर्जिव हुँदै गएको उनले बताए । यसका लागि किसानले प्रयोग गर्ने मलको सहि प्रयोगका विषयमा पनि शिविरमा जानकारी गराइएको उनले जानकारी दिए ।
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले कृषिको बलियो आधार भनेको माटो भएकाले यसको संरक्षण र सहि प्रयोग गर्न सके किसानलाई मात्र नभई राज्यलाई समेत फाइदा हुने बताए । उनले यसका लागि एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले किसानसंग समन्वय गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । सन् २०१४ देखि मनाउन थालिएको विश्व माटो दिवस प्रत्येक वर्ष डिसेम्वर ५ तारिखमा मनाइने गरिन्छ ।
माटो दिवसका अवसरमा आयोजना गरिएको एक दिने निःशुल्क शिविरमा लुम्विनि प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर रेवन्तीरमण पौडेल, बारबर्दिया नगरप्रमुख दुर्गाबहादुर थारु, समन्वय समितिका सदस्य कल्पना थारु लगायतको उपस्थिति रहेको थियो ।