यी हुन् ‘बासमती’ माथि अधिकार दाबी गर्ने नेपालको बलियो प्रमाण
नेपालगन्ज : नेपालको सर्वाधिक चर्चित र लोकप्रिय धान हो ‘बासमती’ । अब बासमतीमा नेपालको अधिकार नरहन सक्छ । किनभने यो धान आफ्नो एकलौटी हो भनेर भारतले दावी गरिसकेकोछ ।
बासमती धान भारतको मात्रै हो भन्दै भारतले यूरोपियन युनियनमा जीआई ट्याग पाउन आबेदन दिएसगैं यो विषयले यतिबेला नेपाली राजनीतिमा तरङ्ग पैदा गरेकोछ ।
बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले दिएको आवेदन स्वीकृत भई जीआई ट्याग पाएमा बासमतीमा भारतको एकाधिकार हुनेछ ।
भारतले निवेदन दिएको आधारमा विस्तृत जानकारी इयूले आफ्नो आधिकारिक जर्नलमा प्रकाशित गरेपछि यतिबेला यो मुद्दाले नेपालमा चर्चा पाएको हो । बासमती धानको परम्पारगत उत्पादन भारतमा मात्र हो भनेर भारतले दावी गरेको छ । बासमती चामल दक्षिण एसियामा सर्वत्र उत्पादन हुन्छ । बासमती चामल नेपाल सहित पाकिस्तान र भारतमा समेत खेति हुँदै आएको छ ।
जीआई ट्याग (ज्योग्राफिकल इन्डिकेसन) बौद्धिक सम्पत्ति हो । यो खास चिज तथा भौगोलिक क्षेत्रलाई दिइन्छ । भारतको आवेदनमा पञ्जाब, हरियाना, दिल्ली, हिमाञ्चल, उत्तराखण्ड, उत्तर प्रदेश तथा जम्मु कश्मीर जस्ता क्षेत्रमा बासमती उत्पादन हुने उल्लेख छ ।
त्यस्तै यसको उत्पादन प्रक्रियादेखि स्वादसम्म अरूभन्दा विशिष्ट हुने दाबी भारतको छ । यदि बासमतीको एकाधिकार भारतले पायो भने, इयू क्षेत्राधिकारमा पर्ने देशहरूमा भारतबाहेक अरू देशबाट बासमती नामबाट धान, चामल बेच्न पाइने छैन ।
नेपालमा पनि पहिलेदेखि बासमती उत्पादन हुँदै आएको छ । एसियन प्याटेन्ट एटोर्निज एसोसिएसनले दाबी विरोध गर्न आग्रह गर्दै उद्योग विभागको ध्यानाकर्षण पनि गराइसकेको छ । भारतले इयुमा दिएको निवेदन तीन महिना पुग्न अब एक दिनमात्र बाँकी छ । यदी भोलीसम्म नेपालले इयुमा निवेदन दिएन भने बासमतीमा नेपालको अधिकार हुने छैन ।
उता पाकिस्तानले भने विरोध गरेर युरोपियन युनियनमा निवेदन दिइसकेको छ । भारतले बासमती धान भारतमा मात्र उत्पादन हुने भन्दै जीआई ट्यागका लागि दिएको निवेदनको सूचना पाए लगत्तै पाकिस्तानले उक्त निवेद नबदर गर्न भन्दै निवेदन दिइसकेकोछ ।
बासमती चामल अहिले अरब देशहरु, युरोप र चीनमा लोकप्रिय हुन थालेको छ । चीनले विगतमा भारतबाट बासमती चामल आयात गर्ने गरेको थिएन । थाइल्याण्डबाट आयात गर्ने गरेको थियो । तर, अहिले आएर चीनले पनि भारतबाट बासमती चामल आयात गर्न थालेको छ । भारतले आफ्नो देशमा पनि विभिन्न प्रदेशलाई बासमती चामलको जीआई ट्याग दिएको छ । अर्थात् भारतमा आन्तरिक रुपमा उत्पादित बासमती पनि सबैले बासमती नाम प्रयोग गर्न पाउँदैनन् । जीआई ट्याग पाएका राज्यले मात्र बासमती नाममा चामल बेच्न पाउनेछन् ।
भारतले युरोपियन युनियनमा दिएको निवेदनमा पाकिस्तानले विरोध गरे पनि नेपाल चुप लागेर बस्दै आएको छ । चीनले पनि आफ्नो देशमा बासमती उत्पादन हुने भन्दै आएको छ ।
नेपालमा बासमती धान उत्पादनको ईतिहास र प्रमाण
नेपालको विभिन्न स्थान, तराई र केही पहाडी भूभागमा अझै पनि स्थानीय जातका बासमती लगाइन्छन् । ती जात ढिलो पाक्ने, कम फल्ने र राष्ट्रिय उत्पादनमा खासै योगदान नगर्ने हुँदा जति चर्चा हुनु पर्ने हो, त्यति भएको पाइँदैन । अधिकांश किसानले पनि खानकै लागि खेती गर्ने चलन बढी छ । तथापी विभिन्न स्थानमा बासमती धानलाई सानो क्षेत्रमा भए पनि व्यावसायिक रूपमा खेती गर्दै आइएको छ ।
बारा, सुनसरी, झापा लगायत पूर्वी तराइ क्षेत्रमा लल्का बासमती, पोखरामा जेठो बुढो, डोटीको जोरायल क्षेत्रमा जोराएल बासमती, कपिलवस्तु क्षेत्रमा काला–नमक, दाङ क्षेत्रमा तिल्की इत्यादि बासमती धान निकै प्रचलित छ । त्यसबाहेक बारामा अनदी बासमती, झापा, मोरङ र सुनसरीमा छोटी, कनक जिरा, जोरपाल र कालो टुन्डे, बासमती, सुनसरीमै गोला, झापा लगायत केही पूर्वी जिल्लामा कालो बासमती, डडेल्धुरामा डाँडा बासमती, दोलखामा आँपझुत्ते इत्यादी चल्तीमा छ ।
नेपालमा रैथाने बासमती के कति छन्, कुन–कुन ठाउँमा छन् भन्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय जीन बैंकको तथ्यांकबाट पनि प्रष्ट हुन्छ । जिन बैंकमा बाजुरा, मुस्ताङ, धादिङ, ललितपुर, डोटी, डडेल्धुरा, बैतडी, नुवाकोट, बझाङ, रामेछाप लगायत जिल्लाका किसानबाट संकलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमती लगायत नाम गरेका धानका जातहरू सबै र सधैंका लागि संरक्षण गरिएको छ ।
ती धानका जात संकलन गरिएको स्थानमा परापूर्वकालदेखि नै लगाउँदै आइएको पाइएको छ । त्यति मात्र होइन, बासमतिजस्तै गुण भएका अन्य दर्जनौं स्थानीय धानका जात जीन बैंकमा सुरक्षित छन् । ती धानका जात मात्र होइन, ती नाम पनि हाम्रा सम्पत्ती हुन् ।
नेपालको स्थानीय बासमती जातका धानलाई अन्तर्राष्ट्रिय रूपमा धानको अनुसन्धान गर्ने संस्था–इरी लगायत संसारका थुप्रै जीन बैंकमा सन् १९७० र १९८० दशकतिरै नेपाललाई आवश्यक पर्दा पाउने गरी संकलन र संरक्षण गरी राखिएको छ ।
बासमती आँपझुत्ते, असामिया, गोल, लामो, मसिनो, नोखी, पहाडे, रातो, उजर्का, सेतो, डाँडा, कालो, मसिनो, रातो, सेते र सेतो बासमती यसैका उदाहरण हुन् ।
यी राष्ट्रिय र अन्तर्राष्ट्रिय जीन बैंकमा नेपालको रैथाने बासमती ‘बासमती’ नामबाटै संरक्षण भएर रहनु नेपालले बासमती नाममाथि अन्तर्राष्ट्रिय समुदायमा आफ्नो पनि अधिकार दाबी गर्ने बलियो प्रमाण हुन् ।
साथै नेपाली तथा अन्य देशका वैज्ञानिकले उनीहरूको अनुसन्धानको नतिजा कृतिका रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्दा नेपालको बासमती धानलाई बासमती भनेर उल्लेख गरी प्रकाशित गर्नु पनि हाम्रो बासमती नाम माथिको अधिकार दाबी गर्ने बलियो प्रमाण हो ।
त्यसमाथि, नार्कले स्थानीय बासमती प्रयोग गरेर लल्का बासमती नामको बासनादार धान विकास र उन्मोचन गरिसकेको छ । केही बासमती धान अनुसन्धान र उन्मोचनको प्रकृयामा छन् ।
माथिका तथ्यले बासमती नाम परापूर्वकालदेखि हालसम्म असल बासनादार जात जनाउन प्रयोग हुने हाम्रो अभिन्न ब्राण्ड भइसकेको जनाउँछ । हामीसँग थुप्रै सम्भावना हुँदाहुँदै पनि हामीले स्थानीय बासमतीको तीव्र विकास, ब्राण्डिङ र व्यावसायिकरण गर्न चुकिरहेका छौं । बैज्ञानिक खोज–अनुसन्धान राज्यको न्यून प्राथमिकतामा छ ।
त्यसो भन्दैमा बासमती नाम माथिको अधिकार भारतले मात्र गर्न पाउने गरी उसले गरेको दाबी इयुमा स्वीकृत भएमा नेपाल, पाकिस्तान लगायत देशलाई अन्याय हुन जान्छ । स्मरण रहोस्, कुनै समय बासमतीमाथि अमेरिकाको कुनै कम्पनीले प्याटेन्ट एकाधिकार लिन खोज्दा भारतले नै रोक्न सफल भएको थियो ।
सम्झनुस्, त्यो अधिकार अमेरिकामाथि त्यसै बेला गएको भए के हुन्थ्यो ? भारतले आफ्नै बासमती धान निर्यात गर्न अमेरिकासँग सम्झौता गर्नुपर्थ्यो । त्यो ब्राण्ड प्रयोग गरे बापत पैसा तिर्नुपर्थ्यो । हाम्रो आजको हालत झण्डै हिजोको भारतको हालत जस्तै हो ।