गुलरियाः बर्दियामा नरभक्षी बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । नरभक्षी बाघको आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवन नगरपालिकाका ४ जना र गेरुवा गाउँपालिकाका एक जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा नरभक्षी बाघको आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १०/१० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । भने बर्दियाकै गेरुवा गाउँपालिकामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ निकुञ्जले उपलव्ध गराएको हो ।
नेपाल सरकारको राहत प्रक्रिया अनुसार मृतकका हकवालालाई प्रति परिवार १०/१० लाखका दरले राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।
डिभिजन वन कार्यालयले मंसिर २३ गते ४ जना मृतकका परिवारलाई राहत वितरण गरेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जले मंसिर २५ गते १ परिवारलाई राहत हस्तान्तरण गरेको हो ।
मधुवन नगरपालिका वडा नम्बर–३, खातामा बाघ आक्रमणमा परी गत भदौ १८ गते विशाल ओलीको ज्यान गएको थियो । यस्तै, कात्र्तिक ५ गते गंगा खत्री र कात्र्तिक ११ गते गते रमेश थारु र दिनेश थारुले नरभक्षी बाघकै आक्रमणबाट ज्यान गुमाएका थिए ।
त्यसैगरी, कात्र्तिक १५ गते नरभक्षी बाघकै आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजीपुरका लहानु थारुको ज्यान गएको थियो । यद्यपी यसअघि गेरुवा क्षेत्रमा मान्छे मार्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा समेत लिइसकेको छ ।
नेपाल सरकारले नै निकुञ्जका वन्यजन्तु गाउँ पसेर स्थानीयको ज्यान लिएमा १० लाख रुपैयाँ राहत प्रदान गर्दै आएको छ । राहत हस्तान्तरण गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु सचेत भएर बस्नुपर्ने बताए । उनले निकुञ्जसँग सहकार्य गर्दै वन्यजन्तु संरक्षणमा हातेमालो गर्नसमेत स्थानीयलाई आग्रह गरेका छन् ।
पछिल्लो समय मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गइरहेकाले द्वन्द्व न्यूनीकरणका लागि समेत निकुञ्ज तथा स्थानीय सरकारबाट विविध प्रयास भइरहेको उनले बताए । निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय सरकार नागरिक लगायतको सक्रिय प्रयासमा मात्रै दिगो संरक्षण सफल हुने बताइएको छ ।
बाघको आक्रमणबाट बर्दिया मध्यवर्ती क्षेत्रमा दुई महिनाको अवधिमा एक बालकसहित ६ जना सर्वसाधारणको मृत्यु भइसकेको छ । त्रासको वातावरणमा रहेका बर्दियाका मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयले २ महिनापछि बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले कार्तिक २३ गते आईतबार दिउँसो डार्ट गरी एक बालकसहित ६ जनालाई खाने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको थियो ।
क्यामेरा जडान गरि बाघको खोजीमा लागेको बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले झण्डै दुई हप्ता लामो प्रतीक्षापछि डार्ट गरी पाटे बाघ समात्न सफल भएको थियो ।
पछिल्लो दुई महिनादेखि आतंक फैलाएको उक्त नरभक्षी बाघ नियन्त्रणमा आएसगैं यतिबेला बर्दियाबासीले केही सुरक्षितको आभाष गर्न थालेकाछन् । यद्यपी सो क्षेत्रमा भने अझै वन्यजन्तुको त्रास भने कायमै रहेकोछ ।
यो पनि पढ्नुहोस्