नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमते रहेका राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डाक्टर धवलशम्सेर राणा र राजा ज्ञानेन्द्र शाहबीच भेट भएको खबर बाहिरीएकोछ । राजा ज्ञानेन्द्र र डाक्टर राणाबीचको भेटपछि राजाबादी र हिन्दुवादीहरु उत्साहित बनेकाछन् ।
पछिल्लो दिनमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको माग गर्दै देशब्यापी भइरहेको प्रदर्शनकाबीच राजा ज्ञानेन्द्रले हिन्दुबादी नेताहरुसगं भेट गर्नुलाई अर्थपूर्णरुपमा हेरिएकोछ । त्यसमा पनि मेयर राणासंगको भेटपछि यस क्षेत्रका राजाबादी र हिन्दुबादीहरु खुशी भएकाछन् ।
केही वर्ष अघि नेपालगन्ज आएका राजा ज्ञानेन्द्रसँग राम्रै हिमचिम बढाएका मेयर डाक्टर राणाले राजधानी पुगेकै बेला राजासँग भेट गर्नुलाई अर्थपूर्ण र नयाँ आन्दोलनको स्वरुप लिने आँकलन गरिएकोछ ।
नेकपा र काँग्रेसको दवदवा रहेकै बेला देशकै पुरानो शहरबाट पुनः मेयरमा अत्याधिक मतले निर्वाचित हुनु, प्रष्ट वक्ता हुनु, भ्रष्टाचारको विरुद्धमा खरो उत्रिनु र आफूले पाएको सेवासुविधा सामाजिक कार्यमा खर्चिनु लगायतका कार्य गर्दै आएका मेयर राणाप्रति राजाले ‘कालो बादलमा चाँदीको घेरा’ देखेका हुन् ।
त्यसो त आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका राजा ज्ञानेन्द्रले यसअघि पनि थुप्रैपटक राजतन्त्रमाथि मडारिएको कालो बादलमा चाँदीको घेरा नदेखेको पनि होइन । तर, देशको राजनीति र यसले उब्जाएको परिणामलाई गहिरिएर नियालिरहेका राजा ज्ञानेन्द्र यतिबेला सक्रिय बन्दै गएकाछन् ।
राजा ज्ञानेन्द्रले पछिल्लो समय दिएको एक अभिब्यक्तिले नेपाली राजनीतिमा ठूलो तरङ्ग पैदा गरेकोछ । जसबाट राजा ज्ञानेन्द्रको सक्रियता बढेको पुष्टि हुन्छ । राजा ज्ञानेन्द्रले ‘आफूलाई दलहरुले राजा नबनाएको र जनताले राजाबाट नहटाएको’ भन्ने तर्कले यतिबेला नेपाली राजनीतिमा नयाँ बहस चुलिएकोछ ।
अझ २०७४ माघ महिनामा भारतको उडिसास्थित पुरी मठका शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षमा आयोजित कार्यक्रममा सहभागिता जनाउन जाँदै गर्दा उनले पात झरेपनि जरा सँधै रहिरहने बताएका थिए ।
विमानस्थलमा कुरा गर्दै राजा ज्ञानेन्द्रले ‘रुखहरु हेरौँ पात झर्छ तर, जरा सँधै रहिरहन्छ’ भनेका थिए । राजाको यस्तो अभिब्यक्तिले त्यतीबेला पनि नेपाली राजनीनितमा तरङ्ग ल्याएको थियो ।
कहि न कहि कुनै न कुनै रुपले देशको राजनीति र अवस्थालाई मध्यनजर गर्दै घुमाउरो पारामा राजाले नेपाली राजनीतिमा आफ्नो उपस्थिती जनाउने गरेका छन् । राजाका अभिब्यक्तिका कारण बेलाबेला नेपाली राजनीतिका हस्तीहरु समेत स्खलित हुने गर्छन् । यसको ज्वलन्त उदाहरण हो राजाको नाच ।
गद्दीच्युत भएर सामान्य नागरिक सरह जीवनयापन गरिरहेका राजा ज्ञानेन्द्र २०७५ सालको पौष महिनामा राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए ।
उनी नाचेको भन्दै नेपकपाका अध्यक्ष रहेका पुष्पकमल दहाल प्रचण्ड लगायत नेपाली राजनीतिका शीर्ष नेताहरुले त्यसको विरोध गरेका थिए ।
व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा राजा नाचेको घटनालाई लिएर नेपाली शीर्ष तहका नेताहरु नै हल्लिएपछि राजाको छाप अझै नेपालमा जिवन्त रहेको पुष्टि गरेको थियो ।
२०६३ बैशाख ११ गते भएको सम्झौतालाई दलहरुले कार्यान्वयन नगरेको बताउने गरेका राजाबादीहरुले देशब्यापी चलिरहेको प्रर्दशनमा जनताको राम्रै सहभागिता र उत्साह देखिएकोछ ।
हिन्दु राष्ट्र अनि राजासहितको प्रजातन्त्रको वकालतमा पश्चिमबाट डाक्टर राणाको उपस्थितीकै कारण राजा ज्ञानेन्द्रसहित राजाबादी र हिन्दुबादीका लागि कालो बादलमा चाँदीको घेरा सावित हुदैछन् डाक्टर राणा ।
हिन्दू राष्ट्र घोषणा र राजसंस्था पुनःस्थापनाको माग गर्दै यहि मंसिर १३ गते शनिबार नेपालगन्जमा भएको प्रदर्शनमा डाक्टर राणाले राजालाई गद्दीमा बसाए मात्र धर्म र संस्कृती बच्ने बताएका थिए । हजारौं राजाबादी तथा हिन्दूवादीहरुको समर्थनमा गरिएको विशाल प्रदर्शनमा उनले यस्तो बताएपछि उनको चर्चा देशब्यापी चुलिएको हो ।
सो बेला वीर गोर्खाली र राष्ट्रवादीहरुको अभियानले राजसंस्थाको पुनःवहाली निश्चित भएको दावी गर्दै उनले देश र श्रीपेचको रक्षाकोे लागि राजसंस्था र हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको बताएका थिए ।
उनले वर्तमान सरकार र प्रतिपक्षका कारण राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने भन्दै ‘नागरिकहरुको साथ र समर्थन बढेको छ । यसलाई शक्तिमा रुपान्तरण गरौं । नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भएरै छाड्छ ।’ भने।
यसैबीच, प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेसले मंसिर २९ गते देशब्यापी सरकारविरुद्ध सडक आन्दोलन गरेको हप्तादिन पुग्न नपाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले देशको समसामयिक राजनीतिक विषयहरुमा बृहद छलफल गरि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणअन्तर्गत संघर्षका कार्यक्रम घोषणा गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
घोषित संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने जनाइएको छ ।
पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गरिने राप्रपाले जनाएको छ । यस्तै पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि जनाइएको छ ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको राप्रपाले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहिरहदाँ राजनीतिक दलहरुले आ–आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेकाछन् ।
एकपछि अर्को पार्टीले सरकारविरुद्ध आफ्ना प्रदर्शन गर्न थालेपछि यतिबेला सरकार र सत्तारुढ नेकपालाई टाउको दुखाई भइरहेकोछ । सत्तारुढ नेकपाको आन्तरिक विवादकै कारण सिर्जित असहज परिस्थितीका कारण राजनीतिक शक्तिले आफ्ना गतिविधिलाई सशक्त बनाइरहेकाछन् ।