‘तस्करी’ नियन्त्रणमा बाँकेका सिडियो र एसपी


‘तस्करी’ नियन्त्रणमा बाँकेका सिडियो र एसपी

नेपालगन्ज : पछिल्लो समय भन्सार छली अबैधरुपमा सामान ओसारपसार गरिरहेको जनगुनासो बढेपछि बाँके प्रहरी सक्रिय भएको छ । रात र दिन दुवै समयमा तस्करी हुने नाकाहरुमा बाँके प्रहरीका विभिन्न युनिट तस्कर पक्राउ गर्न गस्ती गरिरहेकाछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र बाँकेका एसपी ओमबहादुर राना सक्रियरुपमा तस्करी रोक्न सहकार्यका साथ अगाडी बढेका छन् । एसपी रानाले आफ्ना सबै युनिटलाई कुनैपनि हालतमा तस्करी रोक्नुपर्ने भन्दै कडा निर्देशन दिएका छन् । उनी आफैपनि गस्ती गरिरहेकाछन् ।

‘मलाई ईन्फरमेसन आउने वित्तिकै आफै कुद्ने गरेकोछु । मलाई दिन र रातको मतलब छैन । बाँकेमा शान्ति, सुशासन कायम गर्नुछ ।’ एसपी रानाले भने ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग पनि शान्ति र सुशासनका लागि लागि परेकाछन् । उनले आफ्ना सम्बन्धित निकायसंग समन्वय र सहकार्य गर्दै बाँके जिल्लामा तस्करी, घुस, कमिशन रोक्नका लागि कडा निर्देशन समेत दिएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘म काम गर्न आएको हुँ, मलाई काम गरेर देखाउनुछ । जनतालाई अनुभूति दिलाउनुछ ।’ प्रजिअ कुरुम्वाङ्गले भने–‘म अहोरात्र लागिरहेको छु, केही सूचना आए मलाई दिनुस्, म एक्सन लिनेछु ।’

बाँके प्रहरीले तस्करी रोक्न सक्रियता बढाएपछि भन्सार छलेर तस्करी गरेर ल्याएका मालसामानहरु दिनहुँ जसो पक्राउ गरिरहेकोछ । बङ्गुर, रागाँ, कपडा, सुर्ती लगायतका भन्सार छलिका मालसामानहरु पक्राउ गरिरहेको बाँके प्रहरीले जनाएकोछ ।

यसैबीच वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छली अबैधरुपमा लाखौं मूल्यको रागाँ र सूर्ती नेपालगन्जबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार, वडाबाट खटेको गस्ती प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाको विर्ता गाउँनजिक रहेको एसके ईट्टा भट्टा नजिकबाट ६ वटा रागाँ र नेपालगन्जको औधोगिक क्षेत्र नजिकबाट ३ बोरा सुपरपावर सूर्ती बरामद गरेको छ ।

भारतको बाबागञ्जबाट नेपालगन्ज ल्याइएका अबैध ६ वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट सस्तोमा खरिद गरि भन्सार छलेर उतैका तस्करले नेपाल–भारत सीमा कटाउने र नेपालका तस्करले बढी मूल्यमा रागाँ बेच्ने गर्दा तस्करी हुने गरेको बाँके प्रहरीले जनाएकोछ ।

अबैधरुपमा ल्याइएका रागाँ नियन्त्रणमा लिन पुगेका प्रहरीलाई देख्नसाथ तस्कर रागाँ छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका राँगा थप कारबाहीका लागि शुक्रबार नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यस्तै वडा प्रहरी कार्यालयबाट खटेको गस्ती प्रहरीको टोलीले शुक्रबार नै नेपालगन्जको औधोगिक क्षेत्रबाट ठूलो मात्रामा अबैध सूर्ती बरामद गरेकोछ । भन्सार छलेर सुर्खेत लैजान लागिएको अबैध ३ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ । आटो रिक्सामा राखेर ल्याइएको उक्त अबैध सूर्ती बरामद गरि आवश्यक कारबाहीका लागि आज नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।