वन्यजन्तु बस्ती पसेपछि सर्वसाधारण हैरान


वन्यजन्तु बस्ती पसेपछि सर्वसाधारण हैरान

महोत्तरी : दिनदिनैजसो वन्यजन्तुले बाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

नीलगाई र बँदेल हुल (समूह) मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा आतङ्क मच्चाएका जिल्लाका सर्वसाधारणको भनाइ छ ।

अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेको भारतीय सीमावर्ती जलेश्वर नगरपालिका–५ चौडिया बस्तीका रहिमन मण्डल बताउँछन् । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको मण्डलको भनाइ छ ।

नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचाहिँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सीगाउँका इम्तियाज अहमद बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचाहिँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फूलगोभी, बन्दागोभी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डर लाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउँछन् ।
जिल्लाको बर्दिवास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरिपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ ।

बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउाछन् । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेको दाहालको भनाइ छ । नीलगाई, बँदेल र दुम्सी जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वनक्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरूको भनाइ छ ।

वनक्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरूको भनाइ छ । -रासस