हल खुल्दा कन्फ्यूजमा फिल्मीकर्मी


हल खुल्दा कन्फ्यूजमा फिल्मीकर्मी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण विगत ९ महिनादेखि चलचित्र भवनहरु बन्द छन् ।

सरकारले चलचित्र भवन खोल्न निर्णय नगरेपनि चलचित्र संघले शनिबारबाट देशभरका हलहरु शुचारु गर्ने निर्णय गरेसँगै हलहरु सञ्चालनमा आएका छन् ।

देशभर रहेका १९५ हलमध्ये अधिकांश हल खुलेपनि केही हलहरु भने विविध कारणले गर्दा खुलेनन् । काठमाण्डौका गोपिकृष्ण मुभिज, अष्टनारायण पिक्चर्स लगायतका हल शनिबार खुलेनन् । गोपिकृष्ण मुभिज भत्काएर नयाँ बनाउने तयारी गरिएपछि खुल्न नसकेको हो ।

मल्टिप्लेक्स हलहरु भने शनिबारबाट खुलेका छन् । तर, हलहरुमा दर्शकको उत्साह भने खासै देखिएन । क्रिसमसको बिदाको दिन सपिङ मल, रेष्टुरेण्टहरुमा भीडभाड भएपनि हलमा भने दर्शकको उपस्थिती निकै कम देखियो ।

Kids Festival 2022
kanti aarogya hospital

शनिबारबाट २ नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रि–रिलिज गरिएको छ । पुरानै चलचित्र चलेका कारण पनि दर्शकको उत्साह कम भएको हुनसक्छ ।

चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यवद्धता समेत जनाए । काठमाण्डौको सिभिल मलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्न पुगेका चलचित्रकर्मीले अब विस्तारै माहोल बन्दै जाने बताए ।

चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले अहिले नै हल खोल्नु हुँदैन भन्ने मत राख्दै आएका थिए । तर, अब आफ्नो विचार अल्पमतमा परेको भन्दै दीपकले भने–‘हल खुलेकोमा म उत्साहित भन्दा पनि कन्फ्यूजमा छु । अब के हुने हो भन्ने थाहा छैन । तर, विस्तारै पुराना चलचित्र चलाएर नयाँ चलाउने वातावरण बन्दै जाला । तर, मनोरञ्जन दर्शकको प्रमुख प्राथमिकता नभएकाले पनि हल खुल्ने सुखद कुरा भएपनि दर्शक आकर्षित गर्न भने समय लाग्छ ।’

यस्तै, चलचित्र निर्देशक प्रदिप भट्टराइले भने–‘चलचित्र हल खुलेपछि वातावरण बन्ने हो । अहिले नै दर्शकको भीड लाग्छ भनेर हल खोलिएको पनि होइन । तर, विस्तारै यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउँछ । हाम्रो दोश्रो घर नै हल भएकाले चलचित्र भवनमा ९ महिनापछि आउन पाउँदा उत्साहित छु ।’

नेपाली चलचित्र भवनहरु खोल्दा केही चलचित्रकर्मी दोधारमा छन् भने केही वातावरण बन्ने कुरामा आशावादी छन् । दर्शकमा भने शुक्रबार हलमा कुनै उत्साह देखिएन । चलचित्रकर्मीहरुले भन्दै आएको जस्तो अहिले नै दर्शकको भीड लाग्छ भनेर हल खोलिएको होइन । तर, यसले एकातिर सरकारलाई दबाब पर्नेछ भने अर्कोतिर चलचित्र क्षेत्र चलायमान हुनका लागि वातावरण भने बन्नेछ ।