छैन उत्साह राज्यमन्त्रीकै गृह जिल्लामा, ओली समुहकै नेताहरु असन्तुष्ट


छैन उत्साह राज्यमन्त्रीकै गृह जिल्लामा, ओली समुहकै नेताहरु असन्तुष्ट

बर्दिया : प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बर्दियाबाट १२ जनालाई केन्द्रिय सदस्यमा मनोनित गर्दै एक जनालाई उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्री बनाएता पनि उनकै निर्वाचन क्षेत्रमा उत्साह भने देखिएको छैन ।

प्रधानमन्त्री ओली पक्षले गरेको केन्द्रिय भेलाले बर्दियाबाट दामोदर अर्याल, श्याम ढकाल, खडकबहादुर खडका, विमला विक, तुलसा थापा, शोभा ज्ञवाली, लालबहादुर श्रेष्ठ, कविराम थारु, जनक चौधरी, कुलप्रसाद पोख्रेल, खगराज शर्मा र भिम केसीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको थियो ।

मनोनित केन्द्रिय सदस्यमध्ये विघटित प्रतिनिधि सभाका समानुपातिक सभासद विमला विकलाई राज्यमन्त्री बनाएतापनि बर्दिया जिल्ला मात्र नभएर राज्यमन्त्रीकै गाँउघरमा उत्साह देखिएको छैंन । दलित महिला उत्थान संघ बर्दियाको अध्यक्ष हुँदै राजनितिमा आएकी विमला विक २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक उमेद्वार रहेकी थिइन ।

तत्कालिन अवस्थामा माओबादी र नेकपा एमाले एक ढिक्का भएर निर्वाचनमा गएका कारण बर्दियामा बामदेव गौतम बाहेक अन्य सवै प्रदेश सभा सदस्य तथा संघीयमा माओबादी र नेकपा एमालेका गठबन्धनका उम्मेद्वार विजयी भएका थिए । त्यहि मौकामा समानुपातिक उमेद्वार विमला पनि बामदेव गौतमकै प्यानलबाट सभासद हुने मौका पाएकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

तत्कालिन नेकपा एमालेको महाधिवेशनमा माधव नेपाल पक्षमा वकालत गर्ने विमला पछिल्लो पटक केपी ओली समुहमा ढल्किदाँ उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रीको फाईदा लिन सफल भएकी हुन् । सभासद भएको करिब ३ वर्ष नपुग्दै राज्य मन्त्री बनेकी विमला विकको आफ्नै क्षेत्र ताराताल सानोश्रीमा समेत उत्साह देखिएको छैन ।

जानकारहरुका अनुसार बर्दियाको ईतिहास हेर्ने हो भने दलित समुदायबाट पहिलो पटक राज्यमन्त्री त्यो पनि महिलाबाट यो सौभाग्यको विषय भएपनि आम जनताको ईच्छा र आकाँक्षा विरुद्ध चालिएको कदममा प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको हुँदा यो पदको कुनै महत्व नभएको बताउँछन् ।

यो पद केहि महिनाको लागी मात्र हो यसले व्यक्तिलाई फाइदा होला तर, त्यो समुदायका समस्या समाधान हुने देखिदैन अरुको त झन् टाढाको कुरा । बर्दिया जिल्लामा लामो समयदेखि नेकपा एमालेको झण्डा मुनि रहेर अझ त्यसमा पनि प्रधानमन्त्री ओलीकै पक्षमा रहेर संघर्ष गर्दै आइरेहका नेताहरुलाई पाखा लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सार्वजनिक रुपमा भन्न नसकेपनि ओली पक्षमै लागेर हिजोका दिनमा कुनै स्थान नपाएका पुर्व एमालेका नेताहरुलार्ई केन्द्रिय सदस्यमा राखेर थप पीडा दिएको उनीहरुको गुनासो रहेको छ ।

‘पञ्चायतकालदेखि राजनीति गरियो एमालेको झण्डा बोकेर हिँडियो प्रजातन्त्र आएदेखि गुट उपगुट शुरु भयो, शुरुदेखि नै ओलीको पक्ष लागेर आजसम्म कुनै लाभको पदमा पुगिएन’ नाम नछापिदिने शर्तमा पूर्व नेकपा एमालेका एक नेताले भने–‘बामदेव गौतमले पार्टि फुटाउँदा एमालेमै बसियो आज बामदेवको पेलानले माथि जान सकिएन संधै ओली भनियो तर, हिजोसम्म केपिको विरोध गर्नेहरु आज केन्द्रिय सदस्य हुदै राज्यमन्त्री समेत हुँदा विरक्त लागेको छ ।’

उनका अनुसार ओली पक्षले बर्दियाबाट मनोनित गरेका १२ जना मध्ये वास्तविक ओली पक्षका ४ जना मात्रै रहेका छन् । अरु हिजोका दिनमा ओली कै विरोध गर्दथे भने आज स्वार्थको लागी ओलीतिर ढल्केको उनी बताउँछन् ।

स्रोतका अनुसार ओलीले मनोनित गरेका १२ जना मध्ये वास्तविक ओली पक्षकै ४ जनाले प्रचण्ड– नेपाल समुहको लाइन समाउन लागेका छन्, तर, एक चरणको छलफल भने हुने उनीहरुको भनाई छ ।

ओलीलाई जोगाइराख्ने सधै ओलीको वकालत गर्नेहरुलाई पछाडी पारिएको तर, हिजोको दिनमा ओलीकै विरोध गर्नेहरु आज केन्द्रिय सदस्य तथा राज्यमन्त्री बनेकोमा यतिबेला बर्दियाका ओली समुहका नेताहरु सन्तुष्टि देखिएका छैनन् ।

बामदेव गौतम ओलीतर्फ आएपनि ओलीका बास्तविक ४ जनाले ओलीको साथ छोडेमा बर्दियामा बामदेवलाई फेरि पनि निर्वाचन जित्न फलामको चिउरा चपाउनु भन्दा पनि कडा हुने जिल्लाका शीर्ष राजनीतिकर्मीको भनाइछ ।

यस्तो अवस्थामा ओली पक्ष कमजोर हुनेछ, भने बामदेवलाई समेत यसको असर पर्ने देखिन्छ । तर, ओलीका वास्तविक बर्दियाका नेताहरु न भड्किउन भनेर नेकपाका केन्द्रिय सदस्य लक्ष्मण ज्ञवालीले सहजिकरण गरिरहेको बुझिएको छ । ओलीका आसपास रहने अवसरबादीहरुले ओलीलाई सिध्याउन लागेकोमा ओली निकट कार्यकर्ताले यतिबेला चिन्ता ब्यक्त गरिरहेकाछन् ।