प्रदेश १ समूह विजेता बन्यो
नेपालगन्ज : दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ विरुद्धको खेलमा गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ ।
बिहीबार भएको खेलमा प्रदेश–१ ले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो । प्रतियोगिताकै सबैभन्दा कम योगफल बनाउने क्रममा कुसुम गोदार र सोनिया थापाले समान २/२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले रन जोड्न सकेनन् । गण्डकीले ३ रन अतिरिक्तबाट पाएको थियो ।
प्रदेश–१ को धारिलो बलिङ सामू कुनै पनि खेलाडी टिक्न सकेनन् । गण्डकीको पारी ध्वस्त बनाउने क्रममा संगीता राईले ५, सवनम राईले ४ तथा अप्सरी बेगमले १ विकेट हात पारे । ५ विकेट लिएकी राईले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चिइन् । यस्तै चार विकेट लिएकी शवनमले ३ ओभरमा १ मेडन राखेर ३ रन खर्चिएकी थिइन् ।
यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो । प्रदेश–१ का रोमा थापा र काजल श्रेष्ठले दोस्रो विकेटका लागि अविजित १११ रनको साझेदारी गरे । दुबैले अर्धशतकीय पारी खेले ।
काजलले ५७ बलमा ४ चौकाको मद्दतले ५२ रन बनाउँदा रोमाले ४९ बलमा ८ चौकाको मद्दतले ५१ रन प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले १५ रनको योदान दिइन् । गण्डकीका लागि एक मात्र विकेट कुसुम गोदारले लिइन् । जितसँगै प्रदेश–१ समूह ‘बि’ को विजेता बनेको छ भने गण्डकी प्रदेश जितबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिम सेमिफाइनल पुग्ने क्रममा बिहिबार बागमती प्रदेशलाई २८ रनले हरायो ।
खेलमा सुदूर पश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमतीले निर्धारित ११ ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा सुदूर पश्चिमलाई सेमिफाइनल पुग्न प्रयाप्त बन्यो । ब्याटिङमा बागमतीका लागि ओपनर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूर पश्चिमकी कविता जोशीले सानदार बलिङ प्रस्तुत गरिन् । उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट हात पारिन् । आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन् । यस्तै टोलीका लागि कविता कुवँर, रितु कनोजिया र लक्ष्मी साउदले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ७६ रन बनाएको थियो । टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरिन् । अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरिन् ।
यस्तै टोलीका लागि ओपनर कविता कुवँरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । ३० बलको सामना गरेकी उनले १ चौकासहित उक्त रन बनाएकी थिइन् ।
यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन, मञ्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन् ।
बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पारिन् । भने निशा तामाङले पनि १ विकेट लिएकी थिइन् ।
सेमिफाइनल पुग्ने क्रममा सुदूर पश्चिमले समूह चरणमा ३ खेल मध्ये २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूरपश्चिमसँग पराजित बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो । यस समूहबाट सुदूर पश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरिसकेका छन् । अब गण्डकी र प्रदेश १ बिच हुने खेलले समूहको विजेता र उपविजेता टुंगो लगाउनेछ ।
शनिबार हुने सेमिफाइनमा समूह ‘बि’को विजेता प्रदेश–१ ले समूह ‘ए’को उपविजेता लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा ‘बि’को उपविजेता सुदूरपश्चिमले समूह ‘ए’को विजेता विभागीय टोली एपिएफको सामना गर्नेछ । भने फाइनल खेल पुस १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । उप–विजेता टोलीले तीन लाख रुपैयाँ र सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ, उत्कृष्ट ब्याटरले १० हजार रुपैयाँ र उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।