एउटै गाउँमा डेढ करोडको सुन्तला


एउटै गाउँमा डेढ करोडको सुन्तला

गलकोट : सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको बागलुङको बागलुङ नगरपालिका ८, सिगानाका किसानले यस वर्ष डेढ करोडबराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि, यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् ।

अत्यधिक वर्षाका कारण यस वर्ष झन्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीय बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औँशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै दुई करोड रुपैयाँ भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । ‘यो वर्ष थप बगैँचा विस्तार भएका कारण साढे दुईदेखि तीन करोड रुपैयाँका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँ,’ कृषक खड्काले भने, ‘मौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि डेढ करोड रुपैयाँभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ ।’

सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइनसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन् । ‘डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैन,’ खड्काले भने, ‘१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महँगो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ । यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आँकलन गरेको छ । सिगानामा अहिले प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ । सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन् । जसमध्ये बढीमा एक बोटबाट २५ हजारदेखि पाँच हजार रुपैयाँसम्मका सुन्तला उत्पादन हुन्छन् ।

बानपा ८ का अध्यक्ष राजन जीसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ । वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन् ।

‘वडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतः सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छ,’ अध्यक्ष जीसीले भने, ‘अहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगत रूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन् ।’

तीन वर्षपछि सिगानामा कम्तीमा पाँच करोड रुपैयाँको सुन्तला निर्यात हुनेछ । वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ भने सुन्तला लगाउँदा गुमेको कृषिउपज बराबरको रकमसमेत बागलुङ नगरपालिकाले दिने गरेको छ ।

नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोड रुपैयाँका दरले सुन्तला उत्पादनमा वृद्धि हुँदै जानेछन् । उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीनरचार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताइन् । खड्काको बगैँचामा १०० सुन्तलाका बोट छन् । सिगानाका अधिकांश स्थानीय सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् ।

सुन्तलाबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका किसान अनन्तबहादुर खड्काले यस वर्ष तीन लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्ने आशा व्यक्त गर्छन् । सिगानाका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम पाँच लाख रुपैयाँदेखि न्यूनतम ७० हजार रुपैयाँ कमाउँदै आएका छन् ।

सिगानामा सुन्तला भण्डारणको समेत व्यवस्था छ । यहाँ दुई वर्षअघि गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाँमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुन्छ ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तला खेतीका लागि सिगाना उर्वर भएका कारण यस वर्ष थप १० हजार सुन्तलाका बिरुवा रोप्न अनावश्यक रुख हटाउने काम गरिने बागलुङ नगरपालिकाले जनाएको छ ।

सिगानासँगै बिहुँ, तित्याङ, भकुन्डे, दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

अहिले सिगाना सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर बनिसकेको छ । सिगानाको उपल्लो भागमा चिया र तल्लो भागमा सुन्तला खेती विस्तार गर्ने बागलुङ नगरपालिकाको योजनाअनुसार अनुदानको कार्यक्रमसमेत निरन्तर गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए । -रासस