प्रधानमन्त्री कप महिला क्रिकेट

उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने


उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने

नेपालगन्ज : दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–१ र विभागीय टोली एपीएफ भिड्ने भएका छन् । उपाधिका लागि शनिबार भएको सेमिफाइनल खेलमा प्रदेश–१ ले लुम्बिनीलाई र एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।  दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६१ रनको सामान्य लक्ष्य एपीएफले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरको हो ।

एपीएफका लागि ज्योेती पाण्डेले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले १९ रन बनाउँदा कप्तान सीता राना मगरले ७ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमका लागि कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । त्यस्तै रेवती धामीले १२ रन बनाउँदा सम्झना खड्काले ३ रनको योगदान गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कप्तान सिता राना मगरले पनि एक विकेट लिन सफल भइन् । खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको खेलमा दुबै टोली दबाब रहेको थियो । मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको थियो ।

साविकको विजेता एपीएफले लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यसअघिका तीन सिजनमा एपीएफले उपाधि जिति सकेको छ । योसंगै विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यस्तै शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै प्रदेश १ ले फाइनलमा स्थान बनाएको छ । लुम्बिनीले प्रदेश १ लाई दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा विना विकेटको क्षतिमा ५५ रन पुरा गरेको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै काजल श्रेष्ठले २२ रनको योगदान गरिन् । बलिङतर्फ भने लुम्बिनीका लागि कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १४ ओभरमा १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५२ रन बनाएको थियो । लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउन सफल भइन् । त्यस बाहेकका खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राई र निग्मा तामाङले समान दुई–दुई विकेट लिन सफल भइन् । त्यस्तै रुविना क्षेत्रीले एक विकेट लिन सफल भइन् । एपीएफ सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा प्रवेश गरेसँगै प्रदेश १ ले एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । उप–विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।