नेपालगन्ज : दाङको लमहि स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेकोछ । आईतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जितेको हो । योसंगै प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको छ ।
उपाधिका लागि भएको आक्रमक एवंम रोमाञ्चक खेलमा प्रदेश १ ले साविकको विजेता एपीएफलाई सहजै पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको प्रदेश १ ले विभागीय टिम एपीएफलाई ६ रनले हरायो । प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभरमा सात विकेट गुमाउँदै जम्मा ९९ रन बनाउन सक्यो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान दिइन । यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोती पाण्डेले १४ रनको योगदान दिइन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रीले २ विकेट लिइन् । त्यस्तै अलिसा खाडियाले पनि दुई विकेट लिदाँ संगिता राईले एक विकेट लिइन् ।
प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाएको थियो । प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान दिइन् । भने ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भएकी हुन् ।
प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट हुदैँ २९ रनको योगदान गरिन् । त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भइन् ।
साबिक विजेता एपीएफले यसपालि पनि उपाधि हात पार्ने होडमा मैदानमा उत्रिएको थियो । यता पहिलोपटक फाईनलमा पुगेको प्रदेश १ नयाँ विजेता बन्ने लक्ष्यका साथ मैदान कडारुपमा उत्रिएको थियो ।
कोरोना भाइरस संक्रमणकाबीच लामोसमयपछि पुरानै लयमा फर्किएको खेलक्षेत्र पिएम कपको फाइनल खेलमा उल्लेख्य दर्शक पाएको थियो । पारिलो घाममा क्रिकेट खेलको मजा लिन दर्शक लमही क्रिकेट मैदानमा पुगेका थिए । उल्लेख्य मात्रामा उपस्थित दर्शकले खेलाडीको मनोबल बढाउँदै चर्को हुटिङ्ग समेत गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ भने उप–विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गरिएकोछ ।