कोहलपुर ओपन क्रिकेट प्रतियोगिता–२०७७

न्यू दर्पण र कारकाँदो क्वार्टरफाइनलमा


न्यू दर्पण र कारकाँदो क्वार्टरफाइनलमा

कोहलपुर : बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता–२०७७’ शुरु भएको छ । शारदा एजुकेशन पार्कको आयोजनामा बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिता अन्तर्गत कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यू दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा न्यू दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गर्यो । पहिले ब्याटिंग रोजेको न्यू दर्पणले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

जगवारको ब्याटिंगमा मोहम्मद सलमानले सर्वाधिक २३ रन, अंकुर कुमार सिंहले १२ रन तथा अस्लम हलवाई र अरमान सल्मानीले समान १० रन बनाए । न्यू दर्पणका बलर रेशम सिंह ठकुरी र दीप रानाले समान २ विकेट लिए भने सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १–१ विकेट लिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको न्यू दर्पणले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । उसका लागि दीप रानाले सर्वाधिक ३३ रन, गजेन्द्र ओलीले २८ रन तथा दीप बिसीले २२ रन बनाए । जगवारको बलिंगमा मुजिब अन्सारी, इमरान आलम, हसिब अन्सारी र बिकाश साउदले समान १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच दीप राना घोषित भए जसलाई जय सन्तोषी सु–हाउसका प्रोपाइटर बिस्नु ढुंगानाले अवार्ड प्रदान गरे ।

यस्तै सोमबार भएको दोश्रो खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो ।

कारकाँदोको ब्याटिंगमा संगम कँडेलले सर्वाधिक अविजित ३० रन तथा उत्कर्ष विश्वकर्माले १४ रन बनाए । कोहलपुरका बलर मेगराज बिस्टले सर्वाधिक ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको कारकाँदो क्रिकेट क्लबले १२.१ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । उसको लागि सौगात पौडेलले सर्वाधिक २७, मन बहादुर मल्लले १४ तथा सुमन परियारले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोहलपुरको बलिंगमा संगम कँडेलले सर्वाधिक ४ विकेट लिए भने कुशल न्यौपानेले २ विकेट तथा जीवन रावल, नबिन गौतम र हुसेन अलिले समान १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच संगम कँडेललाई जय सन्तोषी सु–हाउसका प्रोपाइटर बिस्नु ढुंगानाले अवार्ड प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत मङ्गलबार तीन वटा खेलहरु हुनेछन् । पहिलो खेल विहान ८ बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोश्रो खेल विहान ११ बजे कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेश्रो खेल २ बजे बिबि वारियर्स र रझेना टर्मिनेटरले प्रतिस्पर्धा गर्नेछन् ।

यसबिच सोमबारदेखि शुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले गरेकी थिइन । भने उद्घाटन समारोहमा कोहलपुर नगरपालिका वडा नम्बर–१० र ११ का अध्यक्षद्वय निरज चलाउने र कर्ण बहादुर थापा, उद्योग वाणीज्य महासंघ कोहलपुरका अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, क्षेत्र नम्बर–५ नेपालगन्जका पूर्व सहसचिव मदन राउतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ । न्यू दर्पण युथ क्लब, ढकेरी किंग्स, कोहलपुर क्रिकेट एकेडेमी, रनियापुर क्रिकेट क्लब, च्याम्पियन्स स्पोर्ट्स क्लब, कारकाँदो क्रिकेट क्लब, कोहलपुर स्ट्राइकर्स, जगुवार क्रिकेट क्लब, बिबि वारियर्स, रझेना टर्मिनेटर, युभीसीसी कोहलपुर, नेपालगन्ज च्याम्प, बिबिसीसी किर्तिपुर, राँझा स्पोर्ट्स क्लब, सम्झना स्पोर्ट्स क्लब र न्यूरोड–११ प्रतियोगितामा सहभागी टिमहरु हुन् ।