नेपालगन्ज : बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिता २०७७ अन्र्तगत मङ्गलबार भएको खेलमा तीन वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेकाछन् ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्यो । च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए ।
यस अघि पहिले ब्याटिंग गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो। रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए । च्याम्पियन्सको बलिंगमा सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए ।
खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए । यस्तै मङ्गलबार भएको दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी केसीएले ढकेरी किंग्सलाई १३९ रनले पराजित गरेको छ ।
कोहलपुरले पहिले ब्याटिंग गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो । ढकेरीको लागि सञ्जय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए । कोहलपुरको बलिंगमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले समान १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो । कोहलपुरको लागि शिव डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए । सन्दीप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए ।
खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिब डाँगी चुनिए । यस्तै तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो । बिबि वारियर्सले पहिले ब्याटिंग गर्दै दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४.१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।
रझेनाको ब्याटिंगमा सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदीप बुढाले २१ रन बनाए । बिबि वारियर्सको बलिंगमा आकाश बिस्टले ४ विकेट तथा बिशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो । वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए । सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए । रझेनाको बलिंगमा जानु कस्गढ, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच बिबि वारियर्सका आकाश बिस्ट चुनिए । प्रतियोगिता अन्तर्गत बुधबार पनि तीन वटा खेलहरु हुनेछन् । पहिलो खेलमा विहान ८ बजे नेपालगन्ज च्याम्प र युभीसीसी कोहलपुरले, दोश्रो खेलमा ११ बजे बिबिसीसी किर्तिपुर र राँझा स्पोर्ट्स क्लब तथा तेश्रो खेलमा १ बजे सम्झना स्पोर्ट्स क्लब र न्यु रोड ११ ले प्रतिस्पर्धा गर्नेछन् ।