वातावरण विभागले भन्यो घरबाहिर निस्किँदा विशेष सावधानी अपनाऔं

कोभिडका बिरामीलाई बढी प्रभाव पार्छ : डाक्टर पाण्डे


वातावरण विभागले भन्यो घरबाहिर निस्किँदा विशेष सावधानी अपनाऔं

नेपालगन्ज : पश्चिमी वायुको प्रभावका कारण यतिबेला नेपालगन्ज सहित देशका मुख्य शहरमा वायु अत्यधिक प्रदूषित भएको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार नेपालगन्ज मुलुककै सर्वाधिक प्रदूषित सहरमा परेको खुलेको हो ।

पश्चिमी वायुका कारण यतिबेला देशभर प्रदूषित वायु बढेकोछ । देशभरका १२ वटा सहरहरु मध्ये वायु बढि प्रदूषित हुनेमा नेपालगन्ज परेको छ । वायु प्रदूषणको हिसाबले भैंसीपाटीको ४०३, भक्तपुरको २७७, विराटनगरको २५० हुदाँ नेपालगन्जको २२७ एक्युआई रहेकोछ । यस्तै छिमेकी जिल्ला दाङ्गको १५२, सुर्खेतको १९२ र महेन्द्र नगरको १९२ रहेको छ ।

विज्ञका अनुसार एअर क्वालीटी इन्डेक्स (एक्युआई) ५० सम्मलाई नर्मल (राम्रो) मानिन्छ । तर, सोमबार साँझ नेपालगन्जको वायुमा एअर क्वालीटी इन्डेक्स (एक्युआई) २२७ मापन भएकोछ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । काठमाडौंमा बढ्दो सहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनलगायतका कारण प्रदूषण नराम्री बढेको बताइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, नेपालगन्जसहित देशका मुख्यमुख्य शहरमा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन समेत भनेको छ ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’

विज्ञप्तिमा नेपालगन्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।

विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

कोभिडका बिरामीलाई बढी प्रभाव पार्छ: डाक्टर पाण्डे

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेण्ड फिजिसियन डाक्टर राजन पाण्डेले वायुप्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर गरेपनि कोभिड लगायत स्वासप्रश्वास सम्बन्धिका विरामीलाई बढी प्रभाव पार्ने बताएका छन् ।

वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या निम्ताउन सक्ने भन्दै सर्तकता अपनाउन डाक्टर पाण्डेले आग्रह गरेकाछन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेण्ड फिजिसियन डाक्टर राजन पाण्डे

‘वायुप्रदुषणले मुख्य गरि स्वासप्रश्वास सम्बन्धि विरामीलाई झन च्याप्दै जान्छ, दमका विरामीलाई गाह्रो बनाउँदै लान्छ निमोनिया समेत हुन्छ’ डाक्टर पाण्डेले यस्तो बेला विशेषगरि बच्चाहरु, बृद्धबृद्धा तथा दीर्घरोघीहरुलाई यसले असर गर्छ ।

‘वायुप्रदुषणले छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने, रुघा लाग्ने, खोकी लाग्ने, आँखा रातो हुने, पोल्ने लगायतको समस्या हुन्छ । दीर्घरुपमा मुटु, फोक्सो तथा मस्तिष्कमा खराब असर गर्छ’ सेतोखरीसंग कुरा गर्दै डाक्टर पाण्डेले भने ‘कोरोना भाइरस संक्रमण हुँदा फोक्सोमा असर गर्छ र बायु प्रदुषणले पनि श्वासप्रश्वास प्रक्रियामा असर गर्ने हुदाँ कोभिडका विरामीलाई थप क्षती पु¥याउँछ ।’

वायुप्रदूषणले कोभिड संक्रमित बिरामीलाई थप क्षति पु¥याउन सक्ने भएकाले वातावरण प्रदुषणमय हुँदा चिन्ताको विषय बनेको उनले बताए । छातीसम्बन्धी रोगीलाई मात्रै नभएर अन्य दीर्घरोगी, मुटु, मिगौलाका रोगीको स्वास्थ्यमा यसले झन् समस्या सृजना हुने डाक्टर पाण्डे बताउँछन् ।

वातावरण प्रदूषित हुन नदिनका लागि नीतिगत तहबाटै दिगोरुपमा काम गर्नुपर्ने बताउँदै डाक्टर पाण्डेले भने –‘वातावरण प्रदुषण न्यूनिकरण आजको भोलीनै हुदैँन, यसका कारणहरु पत्ता लगाई निश्चित मापदण्डमा कामहरु भएनभएको नियमित अनुगमन गरि नियमन र कारबाही गरिनुपर्नेपर्छ ।’

‘बढि प्रदूषित धुवाँ निस्कने पुराना सवारी साधन चलाउनमा रोक लगाउनु, उद्योग, कलकारखानबाट निस्कने प्रदुषण कम गर्नु लगातयका कार्य गरिनुपर्छ । यसका लागि सबैमा सचेतिकरणसंगै जनचेतना फैलाउन जरुरी देखिन्छ’ डाक्टर पाण्डेले बताए ।

वातावरण प्रदुषण बढेका बेला सकभर घरदेखि बाहिर ननिस्कने, निस्कनै परेमा मास्क, चस्मा लगाएर निस्कने लगायतका स्वास्थ्य सम्बन्धि सर्तकता अपनाउनु पर्ने डाक्टर पाण्डेको सुझाव छ ।