बुधबार गरिएको छड्के अनुगमनका क्रममा बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग ।
नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले घुस लिनु आमालाई बलात्कार गर्नु सरह भएको बताएका छन् । मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बुधबार मालपोत कार्यालयको छड्के अनुगमन गर्नेक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताएका हुन् ।
नागरिकहरुको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको बताउँदै उनले भने –‘असल कार्य गर्ने कर्मचारीलाई सहयोग गर्छु । भ्रष्टाचारमा संलग्न रहने कोहि पनि कर्मचारीहरुलाई छाड्दिन ।’
बिभिन्न बहानामा मालोपोतमा कर्मचारीहरुले सेवाग्राहीहरुलाई सास्ति दिईरहेको उल्लेख गर्दै उनले भने –‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह हो, त्यसैले होस् गर्नुहोस् ।’ सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउँसो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मालपोत परिसरमा बिचौलिया प्रबेशमा समेत रोक लगाएका छन् ।
उनले पोशक नलगाउने र परिचय पत्र नलगाउने कर्मचारीलाई बिहीबारदेखि कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई नर्देशन दिए । उनले कर्मचारीहरुलाई निर्देशन दिदैं भने–‘बिचौलियाहरुलाई पूर्ण रुपमा मालपोत परिसरमा प्रबेशमा रोक लगाउनुहोस् ।’
सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रबाह नभएको बताउँदै ईमान्दारिता पूर्बक कार्य गर्न समेत निर्देशन दिए । उनले आफु बाँकेमा आईसकेपछि धेरै कार्यालयहरुको सेवा प्रबाहमा सुधार आएपनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गईरहेको चिन्ता व्यक्त गरे ।
बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना सहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांस कर्मचारी पोशाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरुनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताएका छन् ।
अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले सेवा प्रबाह प्रभावकारी बनाउनका लागि बिबिधता अपनाउन आग्रह गरे । सो क्रममा भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासका कार्यकारी निर्देशक नमस्कार शाहले मालपोतको सेवाबाट सेवाग्राहीहरु सन्तुष्ठ नभएको बताउँदै सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताए ।
निर्देशन पश्चात बोल्दै मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले निर्देशनको पालना गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।