बेवारिसे अवस्थामा गैँडाको खाग फेला


बेवारिसे अवस्थामा गैँडाको खाग फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एकापसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् ।

निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चारवटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् । यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ । १५ वर्षभन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ । -रासस