कोहलपुर : बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता–२०७७’ अन्तरगत चौथो दिन तीन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा कोहलपुर क्रिकेट एकेडेमी, न्यू दर्पण युथ क्लब र बिबि वारियर्स सेमीफाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा न्यू दर्पण युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । न्यू दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।
कारकाँदोको लागि संगम कंडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यू दर्पणका बलर रेशम सिंह ठकुरी र दीप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको न्यू दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसको लागि दीपक बिसीले ३७ तथा निर्मल बिसीले २५ रन बनाए । कारकाँदोको बलिंगमा हुसेन अलिले २ विकेट तथा संगम कंडेल, कुशल न्यौपाने, नबिन गौतम र खगेन्द्र खनालले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच न्यू दर्पणका दीपक बिसी चुनिए ।
यस्तै दोश्रो खेलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्न सफल भएकोछ । कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो ।
च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चका मद्दतले सर्वाधिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन । राहुल शर्माले १५ तथा सुनिल खड्काले १० रन बनाए । कोहलपुर क्रिकेट एकेडेमीको बलिंगमा रमेश सिंहले सर्वाधिक ३ विकेट तथा अजय सहानी र लभकुश यादवले समान २–२ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुरले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो । उसको लागि सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ तथा सुरज दासले १२ रन योगदान दिए । च्याम्पियन्सको बलिंगमा सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए भने गोभिन्द बिस्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडेमीका सुजल केसी चुनिए ।
यसैगरी विहीबार सम्पन्न तेश्रो क्वार्टरफाइनल खेलमा बिबी वारियर्स नेपालगन्जले युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो । युभीसीसीले दिएको ७८ रनको लक्ष्य बिबी वारियर्सले ८.४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो । बिबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाए ।
यस अघि टस जितेर ब्याटिंग गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा ७७ रन बनएको थियो । उसको लागि कमल थापाले सर्वाधिक २३ रन तथा सुमन गुरुङ र आलोक चौधरीले समान १९ रन बनाए । बिबि वारियर्सको बलिंगमा निजामुद्दिन हलवाई र आकाश बिस्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिद्धान्त राज शाही चुनिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार विहान चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारनै पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र न्यू दर्पण युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले चौथो क्वार्टरफाइनलको विजेता टोलिसंग प्रतिस्पर्धा गर्नेछ ।