कोहलपुर ओपन क्रिकेट प्रतियोगिता–२०७७

कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्सलाई


कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्सलाई

नेपालगन्ज : बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले हात पारेकोछ । उपाधीका लागि शनिबार भएको खेलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

वारियर्सको लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए । कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय सहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १–१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसको लागि सन्दीप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए ।

Kanti Aarogya Hospital Nepalgunj

बिबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच बिबी वारियर्सका अमर सिंह रौटेला चुनिए ।

प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्तराज शाही चुनिए उनले १० हजार रुपैयाँ पाए । यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए उनीहरुलले जनही ५ हजार रुपैयाँ पाए ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दीपेन्द्र प्रताप सिंह, विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री, बाँके जिल्ला क्रिकेट संघका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर मनमोहन लम्साल, बिबी साईकलका प्रोपाइटर सरिफ बागवान लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

शारदा एजुकेशन पार्कको आयोजनामा पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ क्रिकेट टिमले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको थियो ।