निकुञ्जबाट दिउँसै गाउँ पस्न थाल्यो बाघ, त्रासमा स्थानीयबासी


निकुञ्जबाट दिउँसै गाउँ पस्न थाल्यो बाघ, त्रासमा स्थानीयबासी

बर्दिया : मोटरसाईकलमा सवार कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई बाघले झम्टेर मारेको घटना सेलाउन नपाउँदै यतिबेला बर्दियाका गाँउगाउँमा बाघ पस्न थालेकोछ ।

बाघ आतंकले असुरक्षित बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका बाघ यतिबेला निकुञ्ज आसपासका गाँउ पस्न थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । निकुञ्जबाट सिधै गाँउ पस्न थालेका बाघका कारण यतिबेला निकुञ्ज आसपासका गाउँका स्थानीय घरबाहिर समेत निस्कन डराइरहेकाछन् । बाघ आतंक बढ्दै गएपछि त्रसिद बनेका उनीहरुले बाघको सिकारबाट कसरी बच्ने भन्दै चिन्ता ब्यक्त गर्न थालेका हुन् ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र सो आसपास क्षेत्रका गाउँमा दिउँसै बाघ पस्दा सर्वसाधरणलाई बाघ आतंकले सताएकोछ । राष्ट्रिय निकुञ्ज भित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अम्रेनी–कर्णाली चिसापानी सडखण्डमा पाटे बाघको चहलपहल अत्याधिक रुपमा बढिरहेको भन्दै पुस १८ गते शनिबारदेखि लागुहुने गरि उक्त सडकखण्डमा हरेक दिन बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्न निकुञ्जले बन्द गरेकोछ ।

रातको समयमा निकुञ्ज क्षेत्रमा यात्रा गर्न रोक लगाएपनि यतिबेला दिउँसै बाघ गाउँगाउँमा पस्न थालेकोछ । दिउँसै बाघले आतंक मच्चाउन थालेपछि त्यस क्षेत्रका नागरिक आफ्नो ज्यान कसरी जोगाउने होला भनेर चिन्तित बनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

ठाकुरबाबा नगरपालिका क्षेत्रमा मात्र नभई मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका ६ को मनिकापुर लगायतका गाउँमा दिउँसै बाघ आएर बाख्रा, गाईभैंसी मार्ने गरेको स्थानीयको भनाईछ ।

गाउँमा बाघले बाख्राको खोरबाटै बाख्रा निकालेर खाने गरेको स्थानीयबासी मोतिप्रसाद लामिछानेले बताए । अहिले बारबर्दियाको ६ र ७ नम्वर वडामा बाघले आतंक मच्चाइरहेकोछ । दिउँसै बाघ गौसाला क्षेत्रमा रहेका गाइ तथा स्थानीयबासीका खसीबोका खाने गरेको स्थानीय मोहबीर रोकायले बताए ।

बाघले पशुचौपाय खान थालेपछि बेलुका पख घर बाहिर निस्कन समेत नसकिएको स्थानीय कमल रानाले सेतोखरीलाई जानकारी दिए । यसरी दैनिक रुपमा दिउँसै त्यस क्षेत्रमा बाघले आतंक मच्चाउँदा समेत सम्बन्धित निकाय मौन देखिएको उनले गुनासो पोखे ।

निकुञ्जले कुनै चासो नदिएको अवस्थामा बारबर्दिया नगरपालिकाले समेत बाघको उचित ब्यवस्थापनका लागि केही नगरेको स्थानीयहरुको भनाई छ । ठाकुरबाबा नगरपालिकाले पशुपन्छि बाघले खाएमा केहि क्षतिपुर्ति दिने गर्दछ तर, बारबर्दिया नगरपालिकाले भने कुनै चासो नदिएको पीडितहरुको भनाई रहेको छ ।

पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ । बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावर र स्थानीयलाई बाघले आक्रमण गर्न थालेको छ । बाघ आतंककै कारण पछिल्लो ३ महिनामा सो क्षेत्रका ७ जना मानिसको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् ।