थारू समुदायमा माघीको चहलपहल


थारू समुदायमा माघीको चहलपहल

देउखुरी : थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घरबाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्षपहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही–७, वेसाहीका अनुपमा चौधरी बताउँछन् । उनका अनुसार ढिक्री, रोटी, माछा र घोँगी परिकार बनाइन्छ । माघीको सम्पूर्ण तयारी पूरा भएको छ । यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन । तर, खानाको परिकार बनाउन भ्याइ–नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो । घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन् ।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागु गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन् । ‘वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ । माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७, कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन,’ उनी भन्छन्, ‘पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।’

Kids Festival 2022
kanti aarogya hospital

सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउँछन् ।

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ । यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उनले बताए ।

उनका अनुसार अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गरिन्थ्यो । यसपालि ठूलो कार्यक्रम छैन । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउनुपर्ने बताए । उनले अनावश्यक भिडभाड नगरी सामान्य तरिकाले चाड मनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन् । विगतका वर्षमा स्थानीय सरकारले माघको विशेष कार्यक्रम गरेको भए पनि यस वर्ष कोभिडका कारण कुनै कार्यक्रम भएको छैन । यसैबीच, लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ । -रासस