नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सञ्चालित कोभिड–१९ आइसोलेसन वार्ड बन्द गरिएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित विरामीको संख्या घटेसँग उक्त अस्पतालमा सञ्चालित आइसोलेसन वार्ड बन्द गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार अस्पतालमा विरामी संख्या एक जना मात्र रहेकाले केन्द्रको बैठकबाटै तत्कालका लागि कोभिड आइसोलेसन वार्ड बन्द गरिएको बताए ।
‘अस्पतालमा अहिले एक जनामात्रै संक्रमित विरामी छन् । ती विरामीको स्वास्थ्य अवस्थामा सुधार आइसकेकाले डिस्चार्ज गर्ने तयारीमा छौं’ प्रजिअ कुरुम्वाङ्गले भने ‘तत्कालका लागि बन्द गरिएको भएपनि त्यहाँ हाललाई कोभिडका नयाँ विरामी भर्ना लिइदैन ।’
कोरोना भाइरस संक्रमणको जोखिम अझैं नसकिएको बताउँदै प्रजिअ कुरुम्वाङ्गले भने कोरोनाको अवस्था हेरेर पछि सञ्चालन गर्ने गरि बन्द गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सञ्चालित आइसोलेसन वार्ड बन्द भएसंगै त्यहाँ आउने कोरोनाका विरामीले अब भेरी अस्पतालमा रहेको कोभिड विशेष अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ ।
मेडिकल कलेज कोहलपुरले कोरोनाका विरामीका लागि भन्दै एकसय बेड छुट्याएको थियो । त्यसमा १५ आईसीयू वेड छन् भने ४ वटा भेन्टिलेटर छन् ।
कोरोना माहामारी सुरुभएसंगै हालसम्म नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डबाट ६७२ जना संक्रमितले उपचार पाएकाछन् ।
पछिल्लो ७ महिनाको अवधिमा ५२ जनाको संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । जसमध्ये दुईजना मेडिकल कलेजका कर्मचारी थिए । जेष्ठको २२ गते पहिलो संक्रमित उपचारका लागि आएका थिए । त्यसपछि विरामीको फ्लो ह्रवात्तै बढेको थियो ।
सो आइसोलेसनमा रही काम गर्ने क्रममा मेडिकल कलेजका एक सय १८ जना स्वास्थ्यकर्मी आफै संक्रमित भएका थिए ।