अस्ताए बघौडा क्षेत्रका ‘सूर्य’

आज दाहसंस्कार गरिदैं


अस्ताए बघौडा क्षेत्रका ‘सूर्य’

नेपालगन्ज : बघौडा क्षेत्रका ‘सूर्य’ अर्थात दिनेशचन्द्र यादव अस्ताएका छन् । बघौडा क्षेत्रको राजनीतिमा दिग्गज मानिने यादव अन्ततः कोरोनाका कारण मृत्युवरण हुनुप¥यो । विकास, पछौटेपन तथा राज्यको मूलप्रवाहिकरणबाट टाढा रहेको बघौटाक्षेत्रको हरेक समस्या समाधानका लागि सकृय राजनीतिमा रहेका यादव बाँकेको राजनीतिमा बघौडा क्षेत्रको सूर्यका उपमाले परिचित थिए ।

सालिन, भद्र स्वभावका यादवप्रति कम्युनिष्ट मात्र नभइ सो क्षेत्रका नेपाली काँग्रेससंगै अन्य विचारमा आस्था राख्नेहरुको उनीप्रति सहानूभूति थियो ।
बघौडा क्षेत्रको राजनीति, सामाजिक, साँस्कृतिक, आर्थिक तथा विकासका सबै आयाममा दिग्गज उनी सो क्षेत्रको वकालतमा भारतीय भूमि प्रयोग गरि नेपालगन्ज हुदैँ केन्द्रसम्म पैरवी गर्दै आएका थिए । भर्खरैमात्र सडक सञ्जाल र राप्ती नदीमा केही वर्ष पहिले बनेको पुलले नेपालगन्जसंग सोझो सम्पर्क ग¥यो । तर, यादव बाटो, पुल विनै बघौडाक्षेत्रको समस्या र त्यसको समाधानका लागि जानकार थिए ।

संविधान सभा सदस्य एवंम नेकपा बाँकेका ईन्चार्ज दिनेशचन्द्र यादवको निधनले यतिबेला नेकपा बाँके मात्र नभएर सिङ्गो बघौडा क्षेत्र शोकमय बनेकोछ ।

प्रजातन्त्रको आन्दोलनहोस्, चाहे दश वर्षे सशस्त्र द्वन्द्व या २०६२/०६३ सालको जनआन्दोलनका क्रममा भएको राजनीतिक उतारचढावमा समेत निरन्तर बघौडा क्षेत्रका हितमा लागिरहे यादव ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो पटक कोरोनाले सिकिस्त हुदाँ उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । कोरोना पोजेटिभ पाइएका यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगिईएको थियो ।

काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको पछिल्लो पटक स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थिए । कोरोना संक्रमण भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

नेकपा बाँकेका संयोजक आईपी खरेलका अनुसार ग्राण्डी अस्पतालमा उपचाररत यादवको बिहीबार बिहान २ः३० बजे उपचारका क्रममा निधन भएको हो ।

उनका अनुसार यादवको स्वास्थ्य अवस्था गत शनिबार बेलुकादेखि नाजुक बन्दै गएको थियो । स्वास्थ्य अवस्था नाजुक बनेपछि सोहीदिन नै थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

खरेलका अनुसार स्वास्थ्य अवस्था चिन्ताजनक भएतापनि यादवको मनोबल अत्यन्त उच्च रहेको थियो । तर, नियतिको खेल वहाँ हामीमाझ हुनुहुन्न । वहाँको निधनले म मात्र होइन सिङ्ग पार्टी स्तब्ध बनेकोछ ।

स्वासप्रश्वास, विपी र मधुमेह जस्ता रोगबाट पहिलेदेखि नै जकडिएका यादवकोे यसअघि वाइपास सर्जरी गरिएकाले कोरोना भाइरस संक्रमित हुदाँ उनको स्वास्थ्य अवस्था झन जटिल बनेको हो ।

पछिल्लो समय उनमा कोरोना नेगेटिभ भएपनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनका आफन्त सोहनलाल यादवका अनुसार मृगौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवलाई बचाउन सकिएन ।

उनको मृत्युसंगै यतिबेला नेकपा बाँके स्तब्ध बनेकोछ । नेकपा बाँकेका अग्रज नेता मध्ये एक यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य समेत थिए ।

यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । यसका अलावा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका थिए । यस्तै भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य समेत रहेका थिए ।

बाँकेमा, खासगरी राप्तीपारी क्षेत्रमा नेकपा (एमाले) लाई स्थापित गर्न अतुलनीय योगदान गरेका यादव लोकप्रिय, मिलनसार र मृदुभाषी नेतामा गणना गरिन्छ ।

सांसद, राज्यमन्त्री र केन्द्रीय कमिटी सदस्यका रूपमा उनले गरेका योगदान त छँदैछन्, मधेसी समुदायबीच पार्टीलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

यसैबीच यादवको शव स्थलमार्गबाट नेपालगन्ज ल्याइदैँछ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उनको घर नरैनापुरमा अन्तिम संस्कार गरिने छ ।