अनुसन्धान प्रहरीको हत्या

अनुसन्धानका लागि गर्लफ्रेण्डलाई झिकाइदैँ, घटनास्थलबाट ड्रग्स सामाग्री बरामद


अनुसन्धान प्रहरीको हत्या

नेपालगन्ज : बाँकेमा अनुसन्धान प्रहरीको हत्या भएकोछ । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको हत्या भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, कारकाँदो स्थायी घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए । प्रविन युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाका छोरा हुन् ।

नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको खबर पाएको बाँके प्रहरी घट्ना स्थलमा पुगी शव जाँच गर्दा राष्ट्रिय अनुसन्धान कार्यल बाँकेमा कार्यरत सहायक सूचक थापा रहेको बाँके प्रहरीले जनाएकोछ ।

अनुसन्धान प्रहरी थापाको शव भेटिएसंगै बाँके प्रहरीले प्रहरी कुकुर समेत लिएर शवको अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार शुक्रबार बिहान लग्दहवास्थित तोरीबारीमा प्रविन मृत अवस्थामा फेला परेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । हिजो बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको टाउकोमा गहिरो घाउचोट लागेको छ । धारिलो बस्तुले कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाका अनुसार शुक्रबार नै मृतक थापामगरको शव भेरी अस्पताल नेपालगन्जमा ल्याई पोष्टमार्टम गरिएकोछ ।

राष्ट्रिय अनुसन्धान प्रहरीको हत्या भएपछि गम्भीरतापूर्वक घटनाको छानविन तथा अनुसन्धानमा लागेको बताउँदै प्रहरी प्रमुख रानाले भने–‘ घटनाको वास्तविकता अनुसन्धानबाट खुल्नेछ । घटना अनुसन्धानका क्रममा थुप्रैमाथि प्रहरीको शंका छ ।’

उनले भने–‘जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा एक जना प्रहरी निरीक्षकको नेतृत्वमा दुई वटा फरक अनुसन्धान टोली बनाई घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेकाछौं ।’

यता अनुसन्धान प्रहरीको हत्यापछि प्रहरीले थापामगरकी गलफ्रेण्डलाई अनुसन्धानको दायरमा ल्याउने भएकोछ । प्रहरी श्रोतका अनुसार थापामगरकी गलफ्रेन्डलाई अनुसन्धानका लागि झिकाइदै छ ।

प्रहरीका अनुसार घटना स्थलबाट ड्रग्स खानेको सामाग्री लगायतका विभिन्न सामाग्री समेत बरामद भएको छ । प्रहरी श्रोतले भन्यो ‘घटना स्थलमा ड्रग्सका विभिन्न टुक्रा, ड्रग्स खान प्रयोग गरिने सामाग्री लगायतका वस्तु भेटिएकोछ ।’