‘बडघर’ प्रथालाई कानूनी मान्यता


‘बडघर’ प्रथालाई कानूनी मान्यता

File Photo

३ माघ, बर्दिया : थारू समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथालाई बर्दियाको एक स्थानीय तहले कानूनी मान्यता दिएकोछ । थारू समुदायमा रहेको बडघर प्रथालाई कानूनी मान्यता दिइएसंगै थारू समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथा व्यवस्थित हुनेछ ।

बडघर प्रथालाई कानूनीरूपमा मान्यता दिई संस्थागत गरेको नेपालकै यो पहिलो हो । बारबर्दिया नगरपालिकाले डघर प्रथालाई कानूनी मान्यता दिदैं ऐन समेत बनाएको छ ।

दाङदेखि पश्चिम तराईमा परम्परागतरूपमा रहेको बडघर प्रथा पछिल्लो समय थप परिमार्जन हुन थालेको छ।  थारू समुदायमा आदिकालदेखि शुरू बडघर प्रथा अहिले तराईका थारु पहाडी दुवै गाउँमा प्रचलनका रुपमा देख्न पाइन्छ।

गाउँमा देखिएका समस्या र विकास निर्माणका बारेमा छलफल गर्नु बडघरको मुख्य काम हो।  विगतमा बडघर प्रथा एकलरुपमा चले पनि यतिखेर भने सचिवसहित पाँचजनाको समितिमार्फत सञ्चालन हुने गरेको प्रचलन रहेको छ। 

Kids Festival 2022
kanti aarogya hospital

‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल बडघर संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ बारबर्दिया नगरपालिकाको आठौँ नगर सभाले सर्वसम्मत रूपमा पास गरेको गरेसंगै कानूनी मान्यता पाएको हो । नगर सभाले थारू समुदायमा रहेको बडघर प्रथालाई संस्थागत गर्नका लागि ऐन पास गरेको हो ।

नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरूको कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार, मर्यादा लगायतका कुरा समेटिएको छ । बडघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैंझगडा समाधान गर्ने, गाउँटोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउने जस्ता प्रावधान तोकिएको छ । त्यसैगरी बडघर प्रथामा सहायक बडघर र चौकीदार समेतको काम, कर्तव्य र अधिकारका बारेमा उल्लेख गरिएको छ ।

सहायक बडघरको कार्य बडघरको अनुपस्थितिमा गाउँको नेतृत्व गर्ने र चौकीदारको कार्य गाउँमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ । ऐन पारित भएपछि परम्परागत रूपमा चल्दै आएको बडघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारू बताँउछन् । बडघर प्रथाभित्र रहेका विकृतिलाई नियमन गर्दै उनीहरूले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पुर्याउने उपप्रमुख अञ्जु दहितको बुझाई छ ।

बारबर्दिया नगरपालिका–११ जब्दी गाउँका बडघर रामबहादुर थारूले नगरपालिकाले बडघर प्रथालाई मान्यता दिएकोमा खुसी व्यक्त गरे । अझैं पनि थारू समुदायमा बडघरको नेतृत्वबिना कुनै पनि सामाजिक कार्य गरिँदैन ।

बारबर्दिया नगरपालिकाले बडघरलाई कानूनी मान्यता दिएपछि यतिबेला बाँकेमा रहेका थारु समुदायमा पनि यसको बहस सुरु भएकोछ । बाँकेका विशेषगरि राप्तीसोनारी गाउँपालिका, बैजनाथ, खजुरा तथा कोहलपुर नगरपालिका क्षेत्रमा थारु समुदाको बाक्लो बस्ती रहेकोछ ।

थारू समुदायको ठूलो पर्व माघीको समयमा बडघरको छनोट गर्ने गरिन्छ । ऐनमा बडघरको चयन थारू परम्पराअनुसार नै गर्नुपर्ने उल्लेख गरेको छ ।