सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’


सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

३ माघ, चितवन : कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् ।

‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ । राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ ।

सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि बृद्धबृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन् ।

सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्वीर खिचाउने गरेका छन् । कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए । उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्ने गरेका छन् । उनले भने, ‘सेल्फी प्वाइन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ ।’ थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरुले बताएका छन् ।

क्षेत्रीय होटल एशोसिएशन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ आएका पर्यटकलाई एकपटक त्यहाँ जाऊँजाऊँ भन्ने बनाएको बताए । उनले भने, ‘यसले पर्यटकलाई सौराहा आयौँ भन्ने अनुभूति दिलाउने काम गरेको छ ।’

कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटकको सङ्ख्या दैनिक ६०० को हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ । घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार ५०० भन्दा बढी हुने गरेका छन् । -रासस