प्रविन हत्याको अनुसन्धानमा सम्पूर्ण शक्ति प्रयोग


प्रविन हत्याको अनुसन्धानमा सम्पूर्ण शक्ति प्रयोग

नेपालगन्ज ३ माघ : राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानमा बाँके प्रहरीले सम्पूर्ण शक्ति प्रयोग गरेकोछ । प्रविन हत्या घटनाको बास्तविक कारण पहिल्याउँदै विभिन्न आयामबाट गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बाँके प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण शक्ति प्रयोग गरेको हो ।

प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनी लगायतका विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएकोछ ।

यतिबेला मृतक प्रविनका गलफ्रेण्डसंग बाँके प्रहरीले अनुसन्धान गरिरहेकोछ । प्रविनकी गलफ्रेण्डमाथि भइरहेको अनुसन्धानबाट पनि केही सुराक पाउने बाँके प्रहरीको विश्वास छ ।

बाँके प्रहरीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्का स्वयम यस घटनाको रहस्यसम्म पुग्न आफै फिल्डमा उत्रिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

सेतोखरीसंग कुरा गर्दै खड्काले भने–‘घटना अनुसन्धान गर्नेक्रममा प्रहरीले आफ्नो सम्पूर्ण विधि अपनाएर गम्भीरतापूर्वक अघि बढिरहेकोछ । उनको कल डिटेल हेर्दा साथीभाईले गरेका कलअनुसार उनीहरुलाई अनुसन्धानका लागि सोधपुछ समेत गरेको छौं ।’

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक भेटिएको ठाउँमै घटना भएको हुनसक्ने आँकल गरिएको भन्दै प्रहरी प्रवक्ता खड्काले मृतक भेटिएको स्थानबाट अनुसन्धानलाई तिव्रता दिएको बताए ।

उनले भने–‘प्रविधि तथा अपराध अनुसन्धानका विधिमा रही प्रहरीले अनुसन्धान गरिरहेकोछ । प्रविनको हत्यामा संलग्न ब्यक्तिहरुलाई छिटै पहिचान गरि पक्रिनेछौं ।’ उनले भने–‘प्रहरीको अनुसन्धानमा प्रभाव पर्ने हुदाँ अनुसन्धानबाट आएका कुराहरु भन्न मिल्दैन यद्यपी हाम्रो अनुसन्धानलाई प्रोग्रेस मिलेकोछ ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, कारकाँदो स्थायी घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए । प्रविन युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाका छोरा हुन् । नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको खबर पाएको बाँके प्रहरी घट्ना स्थलमा पुगी शव जाँच गर्दा राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापा रहेका थिए ।

बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको टाउकोमा गहिरो घाउचोट लागेको छ । धारिलो बस्तुले प्रहार गरि कसैले उनको हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।