नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पाइयो


नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

नेपालगन्ज ५ माघ : नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो ।

उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो । नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको पुस १३ गते पुष्टि भएको थियो । तर, जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए /नभएको खुलेको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर, उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएका छन् ।

के हो कोरोनाको नयाँ प्रकार ?

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी दिदै आएकाछन् ।

यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर, यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताउँछन् ।

कसरी निस्कियो नयाँ प्रकार ?

जानकारहरुका अनुसार मौसम, अनुकूल वातावरण वा अन्य कारणले समयसँगै भाइरस थप शक्तिशाली बन्दै जान्छ । यसरी भाइरसले आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई ‘म्युटेसन’ भनिन्छ ।

कुनै कमजोर व्यक्तिको शरीरमा रहेको कोरोना भाइरस थप शक्तिशाली बनेको र सोही भाइरस अर्को व्यक्तिमा सर्दा नयाँ प्रकारको बनेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

दक्षिण अफ्रिकामा पनि कोरोनाको अर्को प्रकार देखिएको थियो । कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायत र दक्षिण अफ्रिकामा धेरै मुलुकहरुले भ्रमण प्रतिबन्ध लगाएका थिए ।

कसरी सर्छ ?

कोरोनाको नयाँ प्रकार धेरै संक्रामक हुनुको कारण हावाबाट फैलिनु पनि हो । साधारण कोरोना हावाबाट केही कम फैलिने भएपनि नयाँ प्रकार हावाबाट धेरै फैलिन्छ । यद्यपि यो प्रारम्भिक अनुमान हो । अहिलेसम्म यसको पुष्टि भने हुन सकेको छैन ।

वैज्ञानिकहरुका अनुसार मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका मापदण्ड पालना गरी नयाँ प्रकारबाट बच्न सकिन्छ ।