स्थानीय तहको सक्रियताः बालविवाहमुक्त जिल्ला बनाउने तयारी

६ महिनामा २० वडा बालविवाहमुक्त घोषणा गरिदैं


स्थानीय तहको सक्रियताः बालविवाहमुक्त जिल्ला बनाउने तयारी

नेपालगन्ज ६ माघ : स्थानीय तहको सक्रियतामा बाँके जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने तयारी भइरहेकोछ ।

जिल्लाका सबै स्थानीय तह सक्रिय भएपछि बाँकेलाई बालविवाहमुक्त बनाउन थालिएको हो । जिल्लाका सबै स्थानीय तहले स्थानीय बालक्लब तथा किशोरी क्लबहरूसँगको सहकार्यमा बालविवाहमुक्त जिल्लाको निर्माणमा सक्रियता देखाएका हुन् ।

यसका लागि जिल्ला समन्वय समिति बाँकेले समेत जिल्ला परिषद्बाट बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवका अनुसार अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहले योजना अघि सारि सो अनुसार तयारी समेत गरको बताएकी छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताए । उनले अन्य वडामा पनि बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि बालक्लब र किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र बालक्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने योजना बनाइएको बताइन् ।

बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेसनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न गैरसरकारी संस्थालाई सहयोग गरको छ । सो परियोजनाले आगामी छ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको प्लान इन्टरनेसनल नेपालले जनाएको छ ।

प्लान नेपालका प्रदेश प्रबन्धक मीना पराजुलीले बालविवाह न्यूनीकरणका लागि प्लानले सहयोग गरिरहेको जनाउँदै बालक्लब तथा किशोरी क्लबलाई प्रभावकारी योजना बनाएर ल्याउन आग्रह गरिन् । उनले प्लानद्वारा सञ्चालन गरिएको परियोजनाले आगामी छ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाहमुक्त घोषणा गर्ने जनाइन् ।

लगनशील किशोरी क्लबका अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि क्लबका पदाधिकारीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिइन् ।

यता नगर तथा जिल्ला स्तरीय बालक्लब सञ्जालले समेत बालविवाह न्यूनिकरणका लागि आफ्नो सञ्जालबाट जनचेतनामुलक कार्यक्रम गर्दै बालविवाह न्यूनिकरणमा अग्रसर रहेको जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका स्तरीय बालक्लब सञ्जालका अध्यक्ष अंकित मिश्राका अनुसार नगरलाई बालविवाहमुक्त बनाउन सञ्जालले बालगतिविधिहरुलाई तिव्रता दिएको बताएकाछन् ।

उनका अनुसार वडामा रहेका सरोकारवाला निकायसंग समन्वय गरि बालक्लबले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेकाछन् । बालविवाह हुन लागेको खबर संकलन गरि प्रहरी र नागरिकसमाजका अगुवाको रहोवरमा बाविवाह रोक्ने, यससम्बन्धि सचेतिकरण फैलाउने लगायतका कामहरु गर्दै आएको उनी बताउँछन् ।

यस्तै बाँकेका समग्र बालक्लबहरुको छाता संगठन जिल्ला बालक्लब सञ्जालकी अध्यक्ष मेनुका रावतले बालविवाह सम्बन्धिको घटना जिल्लामा पहिलेभन्दा कम भएको बताईन ।

उनले भनिन ‘नागरिकमा आएको परिर्वतन तथा बालक्लब र किशोरी क्लबको सक्रियताले यस्तो सम्भव भएको हो ।’ जिल्लामा अझै पनि बालविवाहको अवस्था नाजुक रहेको पाएकाछौं ।

‘हाल बालबविवाहको पद्धतीमा समेत परिर्वतन आएकोछ । पछिल्लो समय किशोरकिशोरीमा मायाप्रेम र भागि विवाह बढ्दै गएकाले यसतर्फ हामी गम्भीर बन्नु पर्छ ।’ अध्यक्ष रावतले भनिन–‘प्रविधिमा बढ्दो रुचीका कारण पनि किशोरकिशोरीहरु मायाप्रेम गरि स्वेच्छिक विवाह गरिरहेकाले पनि बाँकेमा बालविवाह न्यूनिकरणमा चुनौती थपिदिएकोछ ।’

नगर सञ्जाल तथा जिल्ला बाक्लब सञ्जालका अध्यक्षद्वय मिश्र र रावत भन्छन्–‘परम्परागत मूल्यमान्यता, धर्म सँस्कारका आडमा हुने बालविवाहमा केही कमि आएको भएतापनि प्रविधि तथा स्वेच्छिकरुपमा किशोरकिशोरीले गर्ने विवाहले चुनौती थपेकोछ ।’