योगिनी कप भलिबललाई न्यू एभरेष्ट डिस्लरीको सह–प्रायोजन


योगिनी कप भलिबललाई न्यू एभरेष्ट डिस्लरीको सह–प्रायोजन

नेपालगन्ज ११ माघ : खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितालाई न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।

आईतबार आयोजक योगिनी युवा क्लबका अध्यक्ष र न्यू एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सह–प्रायोजक टुङ्गो लागेको हो ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता रहने आयोजकले बताएको छ ।

खजुराको गौघाटमा आगामी माघको २२ गते देखी २४ गतेसम्म प्रतियोगिता गर्ने तयारी भैरहेको छ । प्रतियोगितामा १२ क्लबले प्रतिस्प्रर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले जानकारी दिए ।

आईतबार भएको पत्रकार सम्मेलनमा न्यू एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने, ‘खेलकुद समाजका युवाहरुलाई सक्रिय बनाउने एउटा सशक्त माध्यम हो । म आफै पनि खेलाडी भएकोले खेलकुदका प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । हाम्रो सहयोगले प्रतियोगितालाई सफल गर्नमा मदत पुग्नेछ । प्रतियोगिताले स्थानीय स्तरबाट राम्रो खेलाडी उत्पादन गर्नेमा पनि हामीलाई विश्वास छ ।’

आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले प्रायोजन गर्ने न्यू एभरेष्ट डिस्लरीलाई धन्यवाद दिनए । उनले भने, ‘हामीले आफ्नो समाजको लागि आफ्नो क्षमता अनुसार योगदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको छौं । यसलाई सफल बनाउन थुप्रै संघ संस्थाको सहयोग आवश्यक हुन्छ । न्यू एभरेष्टले प्रायोजन गरेर प्रतियोगिता आयोजनमा थप उत्साह जागेको छ । यसका लागि हामी उहाँहरुलाई हृदयदेखी धन्यवाद दिन चाहन्छौं ।’

नेपालको एक ऐतिहासिक जिल्ला हो बाँके । बाँकेको खजुरा गाउँपालिका– २ गौघाट खेलकुदका लागि प्रख्यात गाउँ हो । खेलकुदको लोकप्रियता भएको गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेर प्रतिभावान खेलाडी उत्पादन गर्दै त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रर्बद्धन गर्न पनि भलिबल प्रतियोगिताले सहयोग गर्ने रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताए ।

योगिनी माविमा हुने प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र सिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने आयोजकले बताएको छ ।