ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन


ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

नेपालगन्ज ११ माघः नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरिएको हो ।

स्थायी कमिटीको आईतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । संसद विघटनलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।

३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर, ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको हो । बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ ।

यसअघि पुस ७ गते बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो । ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन् ।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।