नेपालगन्ज १६ माघ : मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनाका लागि नगरस्तरीय बालक्लब सञ्जालका बालबालिकाले शुक्रबार सेतु विक चोकमा शहिदका तस्बिर अंकित ब्यानर राखेर उनीहरुको योगदान, बलिदान, सहासिक कार्यको स्मरण गरेकाछन् ।
बालबालिकाले शहीदको सम्मानका लागि सामुहिक रुपमा राष्ट्र गान गायर कार्यक्रम उद्घाटन गरे । गोलबद्ध भई उभिएका बालबालिकाले बलेको मैनबत्ती हातमा लिएर वीर शहिदको सम्मानका लागि एक मिनेट मौन धारणा समेत गरे ।
शहीदको सम्मानका लागि सरकारी तहबाट ठोस काम नभएको अवस्थामा बालबालिकाले शहीदलाई सम्झिने कार्यले सरोकारवालालाई गिज्याएको छ ।
बालमैत्री नगर निमार्णको अभियानमा सक्रिय भइरहँदा बालबालिकामा आएको सचेतिकरण र चासोका कारण हरेक वर्ष शहीद दिवसमा नेपालगन्ज नगरका बालबालिकाले शहिदलाई सम्झने गर्दछन् ।
बालअधिकारकर्मी तथा पूर्व नगर सञ्जालका सचिव देवा बहादुर क्षेत्रीलेशहिदको त्याग र वलिदानले प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकिएकोमा चिन्ता ब्यक्त गर्दै दुःख प्रकट गरे ।
उनले भने–‘हामी शहीदले देखेको सपना पुरा गर्न लाग्नुपर्छ । राज्य तथा सरोकारवाला पक्षबाट शहीदको अवमूल्यांकन भइरहदा हामी बालबालिकाले उहाँहरुप्रति प्रकट गरेको भावनाले अबका पुस्ताले शहीदको उच्च मुल्यांकन गर्दै सम्मान दिनसक्नुपर्छ ।’
नेपालगन्ज उपमहानगर स्तरीय बालक्लब सञ्जालका अध्यक्ष अंकित मिश्राले ‘हाम्रा अग्रजहरुले शहीदको अवमुल्यांकन गरिरहेको परिप्रेक्ष्यमा हामी बालबालिका स्वयमले ईतिहासलाई बचाउन हरेक वर्ष शहीद दिवसमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरिरहेको बताए ।’
शहीद दिवसका अवसरमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा बोल्दै नगरबालक्लब सञ्जालकी सदस्य देव्यानी अधिकारीले शहीदको अवमुल्यांकन नगर्न आग्रह गर्दै शहीदको बलिदानको उच्च मुल्यांकन र कदर गर्दै उनले देखेका सपना साकार पार्न लाग्नुपर्नेमा जोड दिइन् ।
शहीदको सम्मानका लागि दिवसका दिन मात्र सिमित नहुन आग्रह गर्दै उनले शहीद प्रतिको सम्मान र योगदानको मुल्यांकन सरकारीतहबाट गरिनुपर्नेमा जोड दिइन् ।
यस्तै नगरसञ्जालका पूर्व अध्यक्ष साहिल अन्सारीले वर्तमान राज्यको राजनीतिक खिचातानीले शहीदको बलिदानलाई गिज्याइरहेको तर्क राखे । उनले वास्तविक शहिदलाई सबैले भूल्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै असलशासन कै कमीका कारण देश र समाजमा विकृती फैलदै गएको टिप्पणी गरे ।
नगरसञ्जालकी सचिव आशा मिश्राले शहीदलाई विर्सदै जाने परिपाटिको अन्त्य गरिनुपर्ने भन्दै शहीदले देखेको सपना पुरा हुन नसकेको धारणा राखिन् ।
सो अवसरमा हालै नेपालगन्ज उपमहानगरपालिकाको आठौं नगरसभाबाट बालबालिका सम्बन्धि ऐन–२०७७ पारित भएको प्रति खुशी ब्यक्त गर्दै बालबालिकाले बालमैत्री नगर उन्मुख उपमहानगरपालिका सपना साकार हुनेमा विश्वास ब्यक्त गरेकाछन् ।
उनीहरुले ढिलै भएपनि उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन–२०७७ पारित गर्नु सिङ्गो नगरका बालबालिकाको हितमा रहेको बताए ।
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुती दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । तर, हालसम्म कति शहीद घोषणा गरिए भन्ने सरकारसंग यकीन तथ्यांक छैन ।
विसं २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा कार्यक्रम गरिँदै आएको हो ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।
नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद– शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।
पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेका छन् । विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै २०६२–६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो । पछि यो संख्या बढेकोछ ।