नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद्ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतभित्रै हुने बताएको छ । नेपालगन्ज रंगशाला
परिसरमा सोमबार मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन हुने बताए ।
प्रतियोगिताको उद्घाटन ढिलोमा अन्तिम साता गरिएपनि प्रतियोगिताका विभिन्न खेलहरु भने २० गतेदेखि नै शुरु गर्ने तयारी भइरहेको जानकारी सदस्य सचिव विष्टले दिए । उनले विशिष्ट पाहुनाहरु बस्ने प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको बताए ।
‘मंगलबार रातिसम्म प्याराफिट नेपालगन्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ विष्टले भने ।
‘हामी कुनै हालतमा पनि चैतमै प्रतियोगिता गर्छौं, तपाईंहरु विस्वस्त हुनुहोस, सदस्य सचिव विष्टले भने । ‘कुनै ठूलै प्रलय भए बैग्लै कुरा नत्र अब चैतमा प्रतियोगिता हुनबाट रोकिने कुनै कारण र अवस्था छैन, सबै उपसमितिहरुले तीब्र गतिमा काम गरिरहेका छन, ढिलोमा चैत अन्तिम सातासम्म प्रतियोगिता हुन्छ ।’
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले अब प्रतियोगिता हुँदैन कि भन्ने शंका हटेको बताए । प्रतियोगिता २०७५ मै हुँदैन कि भन्ने शंका अब सोमबारका दिनदेखि रहेन, सबै मिलेर यो मिसनलाई सफल बनाउन लागौं, प्रतियोगितालाई उपलब्धिमूलक र ऐतिहासिक बनाऔं, ओलीले बताए । सदस्य सचिव विष्टले सोमबार नै प्रतियोगिताको स्टिकर र जिंगल पनि लञ्च समेत गरेका थिए ।