बाँके राष्ट्रिय निकुञ्ज

प्रलोभनमा पर्दा वन्यजन्तु चोरीशिकारीको घट्ना बढ्दो

निकुञ्जद्वारा ७५ वटा मुद्दा दर्ता, १२ वटा फैसला हुन बाँकी


प्रलोभनमा पर्दा वन्यजन्तु चोरीशिकारीको घट्ना बढ्दो

अप्रेशन महाहण्ट’ अन्तरगत ‘खैरीगोठ अपरेशन’बाट सात थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएका ब्यक्ति । तस्विर: सेतोखरी

नेपालगन्ज २६ माघ : अन्तराष्ट्रिय बजारमा दुर्लभ वन्यजन्तुको हाड, छालाको माग बढेपछि निकुञ्ज तथा संरक्षण क्षेत्रमा चोरीशिकारीको घटना बढ्ने गरेको पाइएकोछ ।वन्यजन्तु चोरी शिकारीको घट्ना बढ्दै गएपछि निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिने नेपाली सेनाको टोलीले आफ्नो निगरानी र गस्तीलाई समेत बढाउँदै लगेकोछ ।

तस्कर तथा गिरोहले मध्यवर्ती क्षेत्र र आसपासका सोझा मानिसालाई विभिन्न प्रलोभनमा पारेर संरक्षित वन्यजन्तुको शिकार गर्ने घटना बढ्ने गरेको बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटेको नेपाली सेनाको श्री श्रीमेहर गण, ओभरी बाँकेका प्रमुख सेनानी जिवन शर्मा बताउँछन् ।

प्रमुख सेनानी शर्माका अनुसार निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको लुकीछिपी चोरीशिकारी हुँदै आएकाले वन्यजन्तुको चहलपहल हुने क्षेत्र र त्यस्ता मानिसको संकास्पद गतिविधि हुने क्षेत्रमा निकुञ्ज र सेनाले सीसि क्यामेरा जडान गरि गस्ती, निगरानी समेत गर्दै आएको बताए ।

उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज भित्रको सुरक्षा चुस्तदुरुस्त पारिएको छ । सेना र निकुञ्जको सक्रियता बढेसंगै लोपोन्मुख तथा संरक्षित वन्यजन्तु मार्ने घटना हालसम्म भेटिएको छैन । यद्यपी निकुञ्ज र सो आसपासका क्षेत्रमा संकास्पद कार्य भइरहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यता बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत श्यामकुमार साहका अनुसार बाँके निकुञ्जले हालसम्म ७५ वटा मुद्दा चलाएकोछ । त्यसमा ३८ वटा अदालतमा गएको छ । भने ३७ वटा मुद्दा कार्यालयमै दर्ता भएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयमा परेका मुद्दामा १२ वटा मुद्दा फैसला हुन बाँकी छ ।

निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सक्रियतामा महाण्ट अप्रेसन अन्र्तगत खैरीगोठ अप्रेसनबाट हालै सल्यानका नौ जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर निकुञ्जले कारबाही प्रक्रिया अघि बढाएकोछ ।

यसले पनि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संरक्षित वन्यजन्तुको चोरीशिकारीमा गिरोह सक्रिय बन्दै गएको पुष्टि हुन्छ । यद्यपी हालसम्म संरक्षित पाटेबाघ, चौका लगायतका वन्यजन्तु चोरी शिकारी भएको तथ्य फेला परेकोछैन ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत साहले भने–‘हामी निकुञ्जको सुरक्षासंगै संरक्षित वन्यजन्तुको संरक्षण र बृद्धिका लागि सुक्ष्मरुपमा अघि बढिरहेकाछौं ।’ उनले अगाडी थपे– मध्यवर्ती क्षेत्र र आसपासका स्थानीयसंगको समन्वयमा निकुञ्जभित्र हुनसक्ने सम्भावित घटना नियन्त्रण, कारबाहीमा सफल भइरहेकाछौं ।’

बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघ र चौका लगायतका वन्यजन्तु संरक्षणका लागि स्थापना गरिएको हो । वि.सं. २०६७ सालमा स्थापना गरिएको यो निकुञ्जमा सन् २०१८ मा गरिएको बाघ गणना अनुसार २१ वटा पाटे बाघ रहेका छन । यद्यपी अहिले बाघको संख्या बढेको आँकलन निकुञ्जले गरेकोछ ।

बाघको संरक्षण गर्नका लागि बाँके राष्ट्रिय निकुञ्ज बासस्थानसंगै प्रयाप्त आहारा जन्य प्रजातीको बृद्धि भएपछि निकुञ्जका बाघ मानववस्ती सम्म आइनपुगेको निकुञ्जका प्रमुख संरक्षक अधिकृत साहको बुझाई छ ।

अधिकृत साहका अनुसार निकुञ्जमा घाँसे मैदान, पानीको व्यवस्था राम्रो गरिएकाले बाघ लगायत बाघका आहारा प्रजातीको संख्या बृद्धी भएको छ । आहारा अभवाकै कारण निकुञ्ज बाहिर बाघ नआएको उनले बताए ।

बर्दियामा बढेको बाघ आतंक जस्तो बाँकेमा छैन । यद्यपी कहिलेकाही निकुञ्ज आसपासका मानिसहरु घाँस, दाउरा, वस्तुभाव चराउन निकुञ्ज क्षेत्रमा जाँदा वन्यजन्तुसंग द्वन्द्व हुनेगरेको प्रमुख संरक्षक अधिकृत साह बताउँछन् ।

निकुञ्जको सुरक्षाका लागि गस्ती गर्दा र निकुञ्जमा राखिएको सीसी क्यामेरामा बाघको गतिविधि कैद हुने गरेकोछ । नियमित निगरानी र गस्तीका बेला प्राप्त तथ्यहरुलाई अध्ययन गर्दा निकुञ्जमा बाघको संख्या बढेको आँकलन श्री श्रीमेहर गण ओभरी बाँकेका प्रमुख सेनानी जिवन शर्मा बताउँछन् ।

उनले भने–‘निकुञ्जको सुरक्षा मापदण्डका कारण यो या त्यो भनेर अहिले नै हामीले पुष्टि गर्न सक्दैनौं । यद्यपी हामीले निगरानी र गस्ती गर्दा पाएका तथ्यबाट बाघको संख्या बढेको भन्न सक्छौ ।’

सरकारले सन् २०२२ सम्म नेपालमा संरक्षित पाटे बाघको संख्या दोब्बर बनाउने योजना अनुसार अघि बढेकोछ । निकुञ्जका प्रमुख संरक्षक अधिकृत साहका अनुसार सम्भवतः २०२१ को अन्त्यतिर बाघको गणाना हुनेछ ।