नेपालगन्ज २८ माघ : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –२ खोरियाकी कल्पना ओली दुई सातादेखि श्रीमानको खोजीमा भौतारिरहेकी छिन् ।
माघ १४ गतेदेखि सम्पर्कविहीन भएका २८ वर्षिय श्रीमान हेमराज खत्रीको खोजीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिदाँ समेत प्रहरी प्रशासनले चासो नदिएको कल्पनाले बताईन ।
७ वर्षिय छोरा सुजनसहित बुधबार नेपालगनजमा पत्रकारसंग कुरा गर्दै कल्पनाले भनिन्–‘श्रीमानको खोजीका लागि प्रहरी प्रशसान गुहार्दा समेत वेवास्ता गरिएपछि पत्रकारसंग कुरा राखेकी हुँ ।’ श्रीमान भेटिने आशामा रहेकी कल्पनाको २०६९ सालमा हेमराजसंग विहे भएको थियो ।
बिहेपश्चात राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ की युवतीसंग प्रेम सम्बन्धमा रहेको दावि गर्दै कल्पनाले ती युवतीमाथि अनुसन्धान गर्न प्रहरी आनाकानी गरिरहेको बताइन् । माघ १४ गते कुखुराको औषधी लिन नेपालगन्ज हिँडेका हेमराज सोहीदिन दिउँसोदेखि सम्पर्क विहीन बनेका हुन् ।
‘लामो समयदेखि श्रीमान सम्पर्कविहीन हुनुहुन्छ । प्रहरीले पनि चासो दिएन । श्रीमानलाई तलमाथि भयो भने के गर्ने ?’ त्रास र आशाकाबीच उनले भनिन्–‘सम्पर्क विहिन भएको दिन राप्तीसोनारीकी ती महिलासंग भेट भएको पुष्टि भएकोछ । मैले आशंकामा ती महिलामाथि सोधपुछ गर्दा त्यसदिन भेट भएको उनले स्वीकारेकी छिन् । तर श्रीमान भेटिनु भएन ।’
‘श्रीमान जिउँदो भएपनि, मरेको भएपनि, मारिएको भएपनि वा कहि गएको भएपनि त्यही युवतीलाई थाहा छ । प्रहरीले उसलाई पक्राउ गरि छानविन गर्दैन । यो कस्तो खालको प्रहरीको रवैया हो ।’ श्रीमान भेटिने आशामा रहेकी कल्पना भन्छिन्–‘निर्दोषलाई फसाउने हाम्रो चाहाना होइन् । तर, प्रहरी प्रशासनबाट सहयोग पाइएन । गरुँ त म के गरुँ ?’
खोरियामा कचना पोल्ट्री फर्म खोलेर कुखुरा ब्यवसाय गर्दै आएका हेमराज एकाएक सम्पर्क विहिन भएपछि उनको ज्यानलाई लिएर परिवार तथा आफन्त चिन्तित बनेका छन् ।
हेमराजकी भान्जि दुर्गा खड्काले मामा हराएपछि माघ १६ गते नै ईलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता समेत गराएको बताईन् ।
उनले भनिन्– ‘मामा(हेमराज) मोटरसाईकलसहित सम्पर्क विहीन हुनुभएकोछ । शंका लागेको गाउँठाउँ, जङ्गल सम्भावित सबै ठाउँ खोजी ग¥यौं तर मामा भेटिनु भएन । प्रहरीले पनि बेवास्ता गरिरह्यो ।’