नेपालगन्ज: नेपालगन्ज रङ्गशालामा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तिव्रगतिमा अघि बढेकोछ । प्रतियोगितालाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न यसका विभिन्न उपसमितिहरुले आफ्ना गतिविधिलाई सक्रियताका साथ अघि बढाएकोछ ।
करिब २० वर्षपछि नेपालगन्जमा आयोजना हुन लागेको राष्ट्रिय खेलकूद प्रतियोगितालाई स्मरणीय योग्य बनाउन स्थानीय स्तरदेखि राष्ट्रिय खेलकूद परिषदले विशेष चासो लिइएकोछ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटनसगैं यसको समापन सम्मको हरेक गतिविधीलाई स्मरण योग्य बनाउन हरसम्भव सम्भावनाहरुलाई अघि सारिएकोछ ।
सोही सन्दर्भमा क्षेत्रीय खेलकूद विकास समितिको मूल समारोह समितिले प्रतियोगिता रोमाञ्चित र यादगारमय बनाउन बाँके जिल्लामा क्रियाशिल विभिन्न कला तथा साँस्कृतिक क्षेत्रमा आबद्ध ब्यक्तित्वहरुसंग गृहकार्य शुरु गरेको छ । राष्ट्रिय खेलकूद परिषदका सदस्य एवंम मूल समारोह समितिका संयोजक विनोद मैनालीको अध्यक्षतामा मङ्गलबार बैठक बसी विभिन्न विषयहरुमाथि छलफल समेत गरेकोछ ।
प्रतियोगिताको ग्राण्ड ओपनिङ्गका लागि सातवटै प्रदेशको कला, सँस्कृति झल्किने विभिन्न नृत्यलाई प्राथमिकता दिनका लागि बृहत छलफल गरेको हो । संयोजक मैनालीका अनुसार राष्ट्रपतिको उपस्थितीमा ग्राण्ड ओपनिङ्ग हुनेछ, रोमाञ्चित र यादगारमय बनाउन नेपालगन्जका विभिन्न एक दर्जन बढि कला तथा सांस्कृतिक समूहसंग छलफल गरि जिम्मेवारी बाँडफाड समेत गरेकोछ ।
उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै बसेको बैठकले चैत्र अन्तिम साताको बेलुका पाँचबजेतिर औपचारिक उद्घाटन गरि राती करिब ८ बजेसम्ममा समापन गर्नेछ । सो अवधिका कला क्षेत्र, खेलकूद, विभिन्न स्कुल, सुरक्षाक्षेत्र, सामाजिक क्षेत्र लगायतको झाँकी, नृत्यलाई प्रस्तुतीकरण गरिनेछ । मञ्च ब्यवस्थापन, रङ्गशाला सजावट तथा आतिसबाजी लगायतका विषयमा समितिले तयारी गरिरहेको मैनालीले जानकारी दिए ।
सो कार्यका लागि भन्दै राखेपाका विभागिय प्रमुख कुलबहादुर थापा सम्मलित सो बैठकले उद्घाटनलाई भब्य र सभ्य बनाउन तथा यसका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेको मैनालीले सेतोखरीलाई बताए । थापाले यसअघि पाँचौ, छैठौ र सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता र भर्खरै साफ प्रतियोगिताको ईभेन्ट म्यानेजमेन्टमा काम गरिसकेकाछन् ।
सो बैठकमा मूलसमारोह समितिका सहसंयोजक अशोक कर्माचार्य, समितिका सदस्यहरु जयनारायण शाह, विजय भण्डारीको बैठकमा सहभागिता रहेको थियो । यस्तै बैठकमा नेपालगन्जमा लामोसमयदेखि कला तथा साँस्कृतिक क्षेत्रमा क्रियाशिल सुन्दर गुरुङ्ग, केवी शाही, मिलन गुरुङ्ग, दीलबहादुर परियार, शेखर घर्तीमगर, श्रृष्टि शाही, श्रृङ्खला बस्नेत, गणेश विष्ट, नवराज सुवेदी, दीलबहादुर सुनार तथा पत्रकार विजय मल्लको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा पाँच सय देखि एक हजार कलाकारले आफ्नो प्रस्तुती दिनेछन् ।