अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील

उपमहानगर – पत्रकार महासंघ रकम अनियमितता (भाग–१)


अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा संयुक्त रुपमा गरिएको विविध कार्यक्रमा अनियमितता भएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले गत वर्ष सञ्चार पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका तर्फबाट अध्यक्ष ठाकुरसिंह थारुले कार्यक्रम सम्पन्न गरेका थिए ।  नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका लागि १० लाख रकम विनियोजन गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर उक्त रकम हिनामिना गरेका हुन् ।

प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष थारुको मिलेमतोमा सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत संचालन गरेका विविध कार्यक्रममा उपस्थिती नै नभएका ब्यक्तिहरुको नक्कली हस्ताक्षर तथा खर्चको विभिन्न बील भर्पाइ तयार पारी रकम हिनामिना गरिएको छ ।
२०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तीक कटेज एण्ड रेष्टूरेन्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती बिषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारको नक्कली रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ ।

रकम बुझेको केही नक्कली हस्ताक्षर ।

प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष थारु मिलेर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जस्ता गरिमामय पद धारण गरेका व्यक्तिहरुको समेत रकम बुझेको भनेर नक्कली हस्ताक्षर गरिएको छ । जब की झा र पोखरेल कार्यक्रममै आएका छैनन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिका बुझाएको हरहिसावको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष पाखरेल कार्यक्रममा सहभागि भएको, यातायात वापत झा र पोखरेललाई हवाइभाडा आउने जाने १४ हजार दिएको, सहजकर्ताको भत्ता वापत झा र पोखरेलले करकट्टी गरी ४ हजार २ सय ५० का दरले बुझेको हस्ताक्षर छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यति मात्र होइन झा र पोखरेललाई होटलमा २ दिनसम्म बास बसाएको भनेर ६ हजारको नक्कली बील पेस गरिएको छ । यस कार्यक्रमको प्रतिवेदन लेखेबापत अध्यक्ष थारुले ३ हजार ४ सय रुपैंया बुझिलिएको भरपाई समेत नगरपालिकामा पेस गरिएको छ । प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ ।  पत्रकार महासंघका केन्द्रिय अध्यक्ष झाले पत्रकार महासंघ बाँके शाखाले कार्यक्रम गरेको आफुलाई थाहा नै नभएको बताए ।

झा ले भने ‘जुन सिग्नेचर मैले गरेकै छैन त्यसलाई मेरो सिग्नेचर हो कसरी भनु ? मलाई कार्यक्रम भएको पनि थाहा छैन, हस्ताक्षर पनि गरेको छैन, कहाँ बुझ्नु मैले पैसा बुझेको छैन । झाले अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाइलाई नक्कली हस्ताक्षर गरेर किन यस्तो ग¥यौ भनेर समेत फोनमा भनेको बताए । नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले अर्कै कार्यक्रममा नेपालगन्ज गएकोबेला बाँके शाखाका पदाधिकारीले कार्यक्रममा आइ क्लास लिइ दिन भनेको तर आफु नगएको बताए ।

नगरपालिकामा पेस गरेको फर्जी खर्च रकम विवरण ।

‘स्नेहा होटलमा बसेको बेला बेलुका आएर दाइ भोली दिउँसो क्लास लिइ दिनुस् भनेका थिए । मैले बिहानैको टू वे टिकेट पहिलेनै काटिसकेको छु भ्याउदिन भने ।’ पोखरेलले सद्भावसँग भने ‘म विहानै काठमाण्डौं आइहाले । न प्रोग्राममा गएको छु, न कहीँ हस्ताक्षर गरेको छु, न त महासंघको पैसा नै बुझेको छु । मेरो हस्ताक्षर कहींकतै छ भने नक्कली हो । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले झा र पोखरेल कार्यक्रममा आएको, हस्ताक्षर गरेको, रकम बुझेको बारे प्रष्टसंग बोल्न चाहेनन् । अध्यक्ष ठाकुरले पहिले त झा र पोखरेललेको भागको रकम फ्रिज भएर नगरपालिकामा रहेको बताए । झा र पोखरेलले हस्ताक्षर हाम्रो होइन भन्नुहुन्छ नि भनेर सोध्दा अध्यक्ष ठाकुरले जवाफ दिए –‘वहाँहरुले हाम्रो हस्ताक्षर हो भन्नुहुन्छ भने होला, होइन भन्नु हुन्छ भने नहोला । यस बिषयमा स्पष्ट हुन धेरै पटक सोध्दा पनि स्पष्ट बताउन चाहेनन् ।

उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाइले झा र पोखरेल कार्यक्रममा आए, नआएको आफुलाई थाहा नभएको बताए । सबैलाई रकम दिएको हरेक कागजातमा अन्तिम हस्ताक्षर गरेका प्रेस सल्लाहकार चौलागाईले महासंघले तयार पारेको कागजातमा अन्तिममा तपाईको हस्ताक्षर चाहिन्छ भनेको हुनाले आफुले हस्ताक्षर गरेको अरु आफुलाई केही थाहा नभएको बताए ।

उनले भने –‘वहाँहरु आउनु भयोकी भएन, मलाई थाहा भएन । झा र पोखरेलको हस्ताक्षर नक्कली हो भन्ने जानकारी आएको छ । त्यहि समस्या भइरहेको छ अहिले । कार्यक्रममा ५० जना सहभागी भएको प्रतिवेदनमा देखाइएको छ । प्रत्येकलाई ५ सयका दरले यातायात खर्च छुट्याइएको थियो ।

कार्यक्रममा नआएका झा र पोखरेलको ठाकुरले तयार पारेको प्रतिवेदनमा भाषण ।

तर, झा र पोखरेल लगाएत नागरिक दैनिकका संवाददाता अर्जुन ओली, अन्नपूर्णपोष्टका प्रदेश समन्वय ब्यूरो प्रमुख शंकर खनाल, राजधानी दैनिकका ब्यूरो प्रमुख तथा महासंघ बाँकेका निर्वतमान अध्यक्ष रुद्र सुवेदी, रेडियो सद्भावका स्टेशन म्यानेजर नविन गिरी, पिपलबोट दैनिकका सम्पादक चेतकान्त भट्टराई, इमेज टिभीका संवादताता नरेन्द्र थापा लगायत १ दर्जन भन्दा बढीको नक्कली हस्ताक्षर गरी अध्यक्ष ठाकुर र प्रेस सल्लाहका चौलागाईले रकम कुम्ल्याएको विभिन्न कागजातले स्पष्ट देखाएको छ ।

ती सबैले आफुहरुको नक्कली हस्ताक्षर भएको र आफुहरुले रकम नबुझेको सद्भावसंग बताए ।यति मात्र होइन नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाको नाम र भत्ता रकम लेखिएको थियो । हस्ताक्षर गर्न बाँकी थियो, भने उपमेयर उमा थापा मगरले रकम भत्ता बुझेको नक्कली हस्ताक्षर गरेर पछि केहीले यसो नगरौ भने पछि मेयर राणा र उपमेयर थापाको नाम र रकम केरिएको छ ।