मापसे चेकजाँचमा बाँके ट्राफिक

तीन वटा यात्रुबहाक बससहित दर्जन सवारी साधन पक्राउ


मापसे चेकजाँचमा बाँके ट्राफिक

बाँकेको हवल्दारपुरमा ट्राफिक चेकिङ्गमा पक्राउ परेका सवारी साधन । तस्विर : सेतोखरी

नेपालगन्ज ९ फागुन : सार्वजनिक सवारी साधनका चालकले मापसे गरि सवारी साधन चलाएको पाइएपछि जिल्ला ट्राफिक कार्यालय बाँकेले उनीहरुमाथि कारबाही चलाएकोछ । जिल्ला ट्राफिक कार्यालय बाँकेले तीनवटा यात्रुबहाक बससहित दर्जन सवारी साधन पक्राउ गरि कारबाही गरेको जनाएकोछ ।

नेपालगन्जदेखि जाजरकोट जान लागेको ना४ख ४४७० नम्बरको बस, नेपालगन्जदेखि धनगढी जादैँ गरेको भे१ज ६९४ नम्बरको विन्गर र नेपालगन्जदेखि सुर्खेत, जाजरकोट र जुम्ला गुड्ने भे१ज ८९७ नम्बरको टाटा सुमो गाडीलाई नियन्त्रणमा लिइ जिल्ला ट्राफिक कार्यालय बाँकले शनिबार कारबाही गरेको हो ।

नेपालगन्जदेखि जाजरकोट जान लागेको ना४ख ४४७० नम्बरको बसका चालकले दिउँसै मापसे गरेको पाइएको हो । उनलाई शनिबार दिउँसो १२ बजे चेजाँचका क्रममा नियन्त्रणमा लिइ आवश्यक कारबाही अघि बढाइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताए ।

उनले भने–‘चालक मदिरामा मस्त थिए । यात्रु त्राशपूर्ण अवस्थामा थिए । चेकजाँच गर्दा मदिरा सेवन गरेर सवारी चलाएको पाइयो ।’ उनका अनुसार नियन्त्रणमा लिइएका सवारी चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा र सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय बाँकेमा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मापसे गर्ने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रणमा लिएर नियमित चेकजाँचमा कडाइ गरिएको छ । ट्राफिक प्रमुख भण्डारीले भने –‘चालु आवको पुष महिनामा ७ वटा, माघ महिना १६ वटा र फागुन पहिलो साता ३ वटा सवारीसाधन कारबाहीमा परेकाछन् । जसमा यात्रुबहाक बस, मोटरसाईकल, कार र अटोरिकसा रहेकाछन् ।’ यसरी कारबाही गरिएका २६ वटा सवारी साधनबाट २६ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

‘कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर मापसे जाँच नगरिएकै कारण पछिल्लो समय मापसे गरेर सवारी चलाउन रूचाउनेहरूको मनोबल बढेको हुन सक्छ,’ ट्राफिक प्रमुख भण्डारीले भने –‘बाँकेमा ठूला तथा साना सवारीका अधिकांश चालकले मादक पदार्थ सेवन गरेर गाडी हाँक्ने गरेकाछन् ।’

पछिल्ला केहीदिनदेखि दिनहुँजसो हुने सडक दुर्घटनामा मुख्य जिम्मेवार मापसे र तीव्र गति रहेको छ भने चालककै लापरबाहीका कारण बढी सवारी दुर्घटना हुनेगरेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएकोछ ।

रातको समयमा ट्राफिक जाँच नहुने र चालकले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम समेत बढेको भण्डारीको बुझाईछ । उनले भने, ‘मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठूला दुर्घटना भएका छन् । अब नियमित चेकजाँचलाई कडा गर्नुको विकल्प छैन ।’

जिल्लाका विभिन्न मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी सवारी चलाएको भेटिएमा कारवाही गरिने भण्डारीले बताए । बन्दाबन्दी हटेसँगै जिल्ला ट्राफिक कार्यालय बाँकेले ट्राफिक नियम पालना नगर्ने चालक विरुद्धसमेत कारबाही अघि बढाएकोछ ।

साइट नछोड्ने, ट्राफिक नियमविपरीत ओभरटेक गर्ने, कागजातबिनै मापसेको तालमा दु्रतगतिमा सवारी चलाउने चालककै कारण बाँकेमा दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ । कडा लकडाउनको जोखिमपूर्ण समयमा समेत सवारी चालकमा मापसेप्रेम देखेको ट्राफिकले खुकुलो हुँदा मापसे गरेर सवारी चलाउने क्रम बढ्न थालेपछि निगरानी बढाएको हो ।

बाँकेको महेन्द्र राजमार्ग होस्, रत्नराजमार्ग, नेपालगन्ज–गुलरिया सडक वा भित्रि, हुलाकी सडकमा चालकको लापर्बाही र मापसे सेवन गरि सवारी साधन चलाउने गर्दा दुर्घटना हुदाँ अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । चेकजाँचमा कडाइ र सडक अतिक्रमण गर्नेहरूलाई पनि नियमन गर्ने तयारीमा प्रहरी निरीक्षक भण्डारी बताउँछन् ।