काँग्रेसले सदनमा रेफ्रीको भूमिका खेल्नुपर्छः नेता शाही


काँग्रेसले सदनमा रेफ्रीको भूमिका खेल्नुपर्छः नेता शाही

नेपालगन्ज १२ फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संविधान बचाउन काँग्रेसले संसदमा रेफ्रीको भूमिका खेल्नुपर्ने बताएकाछन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिसकेपछि संविधानलाई जोगाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएकोले अझैँपनि नेपाली काँग्रेसले सदनमा रेफ्रीको भूमिका निभाउनुपर्छ ।’

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा गइसकेपछि नेपाली काँग्रेसले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै आएको र अदालतको आदेश आइसकेपछि पार्टीले त्यसलाई स्वागत गरेको स्पष्ट पारे ।

उनले भने संसद विघटनका विरुद्ध देशभर प्रर्दशन भइरहेका बेला सडकबाट अदालत प्रभावित हुनुहुदैन भन्ने धारणा समेत अघि सारेको स्पष्ट पार्दै नेता शाहले भने–‘प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेको असंवैधानिक बाटोलाई अदालतले रोक लगाएर राष्ट्र र जनतालाई न्याय दिएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘अदालतले संसद पुर्नथापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो, तर, उहाँले सहजै राजीनामा दिने संकेत देखिएन,’ कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले पत्रकार सम्मेलनमा बोल्दै भने ‘अब १३ दिनभित्रमा संसद बैठक बस्छ, त्यही बैठकमै प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्न सक्छन् ।’

बाजुरा हुदैँ गृहजिल्ला हुम्ला जान नेपालगन्ज आइपुगेका नेता शाहीले संसद पुर्नस्थापना हुँदा देश ठूलो दुर्घटना हुनबाट जोगिएकोले प्रजातन्त्र जोगाउनका लागि यतिबेला नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

‘अब देशलाई कुन मोडमा लैजाने, त्यसमा काँग्रेसले गम्भीर ढंगले सोच्नुपर्छ, पार्टिभित्र गुट, उपगुट हुनुहुदैन’ उनले भने–‘काँग्रेसले सत्ताका लागि मरिहत्ते गरे मुलुकलाई सही दिशामा अगाडी बढाउन सकिदैन ।’

‘राजनीतिमा प्रतिपक्षमा बस्ने र सत्तामा जाने कुरा सामान्य कुरा हो, तर सत्तामा जानका लागि खराब खालको दृष्टिकोण काँग्रेसले अवलम्वन नगरोस् यसले बैदेशिक हस्तक्षेप हावि हुनसक्छ उनले थपे ।

वर्तमान देशको राजनीति उतारचढाव र कम्युनिष्टप्रतिको बैमनस्यताका कारण यतिबेला देशभर नेपाली काँग्रेसप्रति जनलहर बढेको जिकिर गर्दै केन्द्रीय सदस्य शाहीले भने–‘संविधान, राष्ट्र र प्रजातन्त्र रक्षाका लागि काँग्रेसले कसैसंग सम्झौता गर्दैन । काँग्रेस एक्लै सामना गर्छ ।’

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस हुम्लाका सभापति जयपति रोकाय, युनियन उपमहासचिव प्रेम केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई र नेपाल प्रेस युनियन हुम्लाका पूर्व उपाध्यक्ष जनकबहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।