धर्मगुरुको सम्झनामा डेढसय वर्षदेखि नरैनापुरमा मेला


धर्मगुरुको सम्झनामा डेढसय वर्षदेखि नरैनापुरमा मेला

नरैनापुर(बाँके) १३ फागुन : बाँकेको नरैनापुर गाँउपालिकामा हरेक वर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस वर्ष पनि चलिरहेको छ ।

नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर (मियाँपुर्वा) मा मंगलबारदेखि चलेको मेला ७ दिनसम्म सञ्चालन हुनेछ । गंगापुरमा रहेको हजरत खलिफा नुर अहमद शाहको मजारमा डेढ सय वर्षदेखि हरेक वर्ष मेला आयोजना हुँदै आएको छ ।

१८ वर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक वर्ष वसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।

मेलाको पहिलो दिन मंगलबार राति १० बजे गुस्ल, दोस्रो दिन बुधबार विहान १० बजे कुल, दोस्रो दिन नै बुधबार राति ७ बजेदेखि राति १० बजेसम्म गागरसंगै कवाली र राति १० बजेदेखि भारतीय कलाकारहरुको साथ नातिया मुशायरा लगायतका कार्यक्रम गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादु खेल लगायत हुने गरेको छ ।

मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताए । खलिफा नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ ।