कोरोना मृतक संख्या अध्यावधिमा हेलचेक्र्याँई : बुधबार र बिहीबार मात्र ७०२ जना मृतकको संख्या थप


कोरोना मृतक संख्या अध्यावधिमा हेलचेक्र्याँई : बुधबार र बिहीबार मात्र ७०२ जना मृतकको संख्या थप

नेपालगन्ज १३ फागुन : स्वाथ्य तथा जनसंख्या मन्त्रालयले थप ८३ जना कोरोना संक्रमितको मृत्यु भएको संख्या जोड्दै नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिको संख्या २ हजार ७ सय ६७ उल्लेख गरेको छ ।

मन्त्रालयले बुधबार ६ सय १९ जना मृतकको संख्या थप गरेको थियो । तर, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना मात्रै कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमण घट्दै गएको बेला मन्त्रालयले एकै पटक संक्रमणबाट मृत्यु हुनेको यति धेरै संख्या कहाँबाट आयो भन्ने धेरैलाई कौतुहल बनाएको छ । तर, यो संख्या एकै दिनमा संक्रमणबाट मृत्यु हुनेको संख्या होइन ।

विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयले अध्यावधि गर्ने क्रममा मृत्यु तथ्यांकमा फरक परेको थियो । जसले गर्दा यसअघि नै संक्रमणबाट मृत्यु हुनेको संख्यामा एकरूपता नआएपछि मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको संख्या यकिन पत्ता लगाउन गत कात्तिक दुई गते समिति नै गठन गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको कोरोना मृतकको संख्या फरक फरक पाइएपछि विवाद भएको थियो । मन्त्रालयले सहसचिव शैलजा रेग्मीको विवाद सुल्झाउन र कोरोनाबाट मृत्यु भएका व्यक्तिको सख्ंयाबारे छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।

उक्त समितिले स्वास्थ्य मन्त्रालयमा मृतकको पूर्ण विवरण नआएकोले संख्या कम देखिएको भन्दै मृतकको संख्या सच्याउनुपर्ने सुझाव दिएको थियो ।

उक्त सुझावका आधारमा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले कोभिडबाट मृत्यु भएका व्यक्तिको परिभाषा परिमार्जन गर्दै कोरोनाको लक्षण देखिएका तर, जाँच नभएका, लकडाउनका समयमा घरमा मृत्यु भएका व्यक्तिहरुलाई पनि कोभिड मृत्यु मान्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो ।

मन्त्रालयले उक्त प्रस्तावलाई स्विकृती दिएपछि बुधबारदेखि मृतकको संख्या सच्याउदै जाँदा मृतक संख्या बढेर गएको हो । कोरोना संक्रमित मृतकको संख्याको विषयमा विश्लेषण गरिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने मन्त्रालयले आँकलन गरेको छ ।