प्रधानमन्त्री महिला कप भलिबल प्रतियोगिता २०७७

लगातार जित निकाल्दै पुलिस क्लब लिगमा शीर्षस्थानमा उक्लियो

नेपाल एपिएफको विजयी सुरुवात


लगातार जित निकाल्दै पुलिस क्लब लिगमा शीर्षस्थानमा उक्लियो

नेपालगन्ज २२ फागुन : सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो दिन साविक विजेता नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्न सफल भएकोछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले स्थानीय लुम्बिनी युनाइटेड टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा उक्लिएको छ ।

नेपालगन्जस्थित रंगशालाको कर्भडहलमा भएको खेलमा एकपक्ष जित निकाल्ने क्रममा पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ ले ले पराजित गर्यो ।

पहिलो र दोस्रो सेटको तुलनामा लुम्बिनीले तेस्रो सेटमा केहि सुधारिएको प्रर्दशन गरेको थियो । तेस्रो सेटमा लुम्बिनीले पहिलो पटक तीन अंकको अग्रता लिएपनि धेरै समय कायम गर्न सकेन । उपाधिको दाबेदार पुलिससँग सहजै पराजित गर्न पुग्यो । खेलमा पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच चुनिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि पुलिसले पहिलो खेलमा उद्घाटन खेलमा होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटले पराजित गरेको थियो ।

यस्तै शनिबार भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ।

शनिबार भएको प्रतियोगितामा एपिएफले आर्मीलाई २४–२६, २५–२३, २५–१६, २५–२३ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एपिएफले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै खेलमा विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मी २६–२४ ले विजयी भएको थियो । दोस्रो सेट सुरुवात देखिनै उच्च प्रतिस्पर्धा भएको थियो । एक समय तीन अंकले पछि परेको एपिएफले २५–२३ ले जित निकाल्दै खेललाई रोमाञ्चक बनायो ।

तेस्रो सेट पनि सुरुवात प्रतिस्पर्धात्मक बनेपनि त्यसपछि एपिएफले लगातार अंक जोड्दै सहज जित निकालेको थियो । एपिएफले लगातार ९ अंक जोडेपछि तेस्रो सेट २५–१६ ले सहजै जितेको थियो ।

चौथो सेटमा आर्मीले सुरुवाती पाँच अग्रता लिदै राम्रो सुरुवात गरेपनि अन्तिम समयमा चुक्न पुगेको थियो ।

एपिएफले राम्रो पूनरागमनका साथ सेट १५–१५ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने खेलमा पुनः प्रतिस्पर्धा भएको थियो । तर, एपिएफले अन्तिम समयमा उत्कृष्ट प्रर्दशनका साथ २५–२३ ले जित्दै विजयी सुरुवात गरेको हो ।

टोली पराजित भएपनि आर्मीकी शान्ति थारुको प्रर्दशन भने उत्कृष्ट थियो । खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच चुनिइन् । यसअघि आर्मीले पहिलो खेलमा स्थानीय टोली लुम्विनी युनाइटेड टिमलाई ३–० को सेटले हराएको थियो ।

लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।

लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।