प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता २०७७

आर्मीमाथि न्यू डायमण्डको जित, उपाधि जित्ने सम्भावना जीवितै


आर्मीमाथि न्यू डायमण्डको जित, उपाधि जित्ने सम्भावना जीवितै

शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबसंग भिड्दै न्यू डायमण्डका खेलाडी । सेतोखरी

नेपालगन्ज २३ फागुन : नेपालगन्जमा जारी सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले पराजित गरेको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनमा नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा आईतबार भएको खेलमा डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । योसंगै डायमण्डले आफ्नो विजयी शुरुवात गरेकोछ ।

जितसँगै डायमण्डले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । डायमण्डको दुई खेलबाट ४ अंक छ । पराजित आर्मीको तीन खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको एपिएफको ६ तथा दोस्रो स्थानमा रहेको पुलिसको ५ अंक छ ।

सुरुवाती दुई सेटमा सहज जित निकालेको डायमण्डले तेस्रो सेटमा जित गुमाएको थियो । सुरुवातदेखि नै अग्रता बनाउँदै डायमण्डले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतिस्पर्धात्मक दोस्रो सेट डायमण्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर, तेस्रो सेट डायमण्डले २३–२५ ले गुमाएको खेल चौथो सेटमा लम्बिएको थियो ।

चौथो सेटमा सुरुवातमा पछि परेपनि डायमण्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित्न सफल भयो । एक समय ९–१३ ले पछि परेको डायमण्डले लगातार ७ अंक जोड्दै खेललाई १६–१३ को स्थितिमा ल्याउँदै जितको बाटो देखाएको थियाए । त्यसपछि डायमण्डले ९ अंक जोड्दा आर्मीले ८ अंक मात्रै जोड्न सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी डायमण्डकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् ।

एपिएफको लगातार दोस्रो जित

यसैबीच आईतबार भउको पहिलो खेलमा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । एपिएफले लुम्बिनी युनाइटेड टिममाथि ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो । एपिएफले लुम्बिनी युनाइटेडलाई २५–८, २५–१२ र २५–८ ले हराएको हो ।

पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ । लुम्बिनी युनाइटेडको यो लगातार तेस्रो हार हो । लुम्बिनी पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिससँग समान ३–० को सोझो सेटले पराजित भएको थियो । खेलमा नेपाल एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् ।

पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ ले पराजित गरेको हो । एपिएफकी जितपछि एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ ।

लगातार तेस्रो हार बेहोरेको लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन । लुम्बिनी आर्मी र पुलिससँग समान ३–० को सोझो सेटले पराजित भएको थियो ।

लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ । लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।