नेपालगन्ज २४ फागुन : सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले समान तीन/तीन जित निकालेका छन् । योसंगै मङ्गलबार हुने फाईनल खेलमा एपीएफ र पुलिस उपाधिका लागि भिड्नेछन् ।
नेपालगन्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमबार एपीएफले होंगान्जी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले पराजित ग¥यो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित ग¥यो ।
पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल कलेजकी निर्देशक रेवती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकालेको छ ।
पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो ।
तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।
उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी भइन् । उनलाई नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापा, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र युवा उधमी शिवांगिनी राणाले पुरस्कृत गरे ।
पुलिसले उदघाटन खेलमा होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटले पराजित गरेको थियो । दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड टिमलाई ३–० ले हराएको थियो ।
पुलिसको ३ खेलमा ८ अंक छ भने शीर्षस्थानमा रहेको एपिएफले ९ अंक जोडेको छ । तेस्रो स्थानको न्यू डायमण्डको ४ तथा आर्मीको ३ अंक छ ।
आर्मीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा लुम्बिनी युनाइटेड टिममाथि आर्मीले ३–० को सहज जित निकालेको थियो । दोस्रो खेलमा आर्मी एपिएफसँग ३–१ ले पराजित भएको थियो । तेस्रो खेलमा होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब ३–१ ले हार्न पुगेको थियो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेडको सहभागिता छ ।
विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।