महिला दिवस मनाइरहदाँ दैलेखमा चार सन्तानसहित एक महिला कर्णालीमा हाम फालिन्

दुई जनाको शव भेटियो, तीनजनाको खोजी जारी


महिला दिवस मनाइरहदाँ दैलेखमा चार सन्तानसहित एक महिला कर्णालीमा हाम फालिन्

नेपालगन्ज २५ फागुन  : दैलेखकी एक महिला आफ्नो चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिए पनि अन्य बेपत्ता छन् ।

आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । ‘दुई जनाको शव भेटिएको छ । सनाखत पनि भइसकेको छ । अरु तीनजनाको खोजी कार्य भइहेको छ,’ देवकोटाले भने ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।

सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार बेलुका घर नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

श्रीमानसँग झगडा परेपछि आफ्ना चार सन्तानसहित सोमबार बिहानै सुकी घरबाट निस्किएकी थिइन् । आईतबार राति मदिरा सेवन गरी घरमा गएका श्रीमानसँग झगडा परेपछि उनी बिहानै निस्किएकी थिइन् ।

घरबाट निस्किएका दुई छोरीको शव भेटिए पनि एक छोरा, एक छोरी र आमाको अवस्था अज्ञात रहेको छ । ८ वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया छोरी रजनी बडुवाल र आमाको अवस्था अज्ञात छ । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेकोछ ।